पर्सा,३कार्तिकःसाल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चाडपर्वलाई लक्षित गरी वीरगन्ज नाकाबाट १ सय १० टन चिनी भित्र्याएको छ ।कर्पोरेशन मधेस प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत संजय गुप्ताका अनुसार दसैँअघि असोज २४ गतेका दिन वीरगन्ज भन्सार नाका हुँदै ३ वटा ट्रकमा गरी १ सय १० टन चिनी भित्रिएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनले गत वर्षकै सरकारी कोटा अन्तर्गत यस वर्ष भारतबाट ५ हजार ४ सय ५० टन चिनी भित्र्याउन लागेको हो । भारतीय कम्पनी नेशनल कोअपरेटिभ एक्सपोर्ट्स लिमिटेड नयाँ दिल्ली आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्ट अन्तर्गत सबै चिनी भारतको उत्तर प्रदेश राज्यको गोबिन्द सुगर मिल्स लखिमपुर छेहरीबाट खरिद गरी नेपाल ल्याउन लागिएको हो ।
‘उद्योगबाट ट्रकमा लोड गरी सोझै वीरगन्ज नाका हुँदै चिनी भित्रिरहेको छ ,’ गुप्ताले भने, ‘एक ट्रकमा ३० देखि ४० टनसम्म चिनी लोड हुन सक्छ ।’ दसैँअघि पहिलो लटको चिनी भित्रिसकेको र अब दसैँ सकिए लगत्तै क्रमशः चिनी भित्रिने उनले बताए । हाल उद्योगबाट ट्रकमा चिनी लोड भई केही ट्रक भारतको राजमार्गमै रहेको उनले बताए ।
तिहार र छठ पर्वअघिनै सबै चिनी भित्र्याइ सक्ने लक्ष्य रहेको उनले बताए । ‘तिहार र छठ पर्वअघि उपभोक्ताले साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याएको चिनी पाऊन् भन्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौं,’ उनले भने, ‘अब क्रमशः नियमित रुपमा भित्रिन थाल्ने भएकाले सम्भवतः यी पर्व अघिनै कन्सााइन्मेन्ट अन्तर्गत सबै चिनी भित्रि सक्ने छ ।’
दसैँको तुलनामा तिहार र छठ पर्वमा चिनीको माग बढी हुने गरेको छ । संघीय सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गत वर्षनै चिनीको कोटा दिएकोमा साल्ट ट्रेडिङ कर्पोरेसनले गत वर्षकै कोटाबाट हाल चिनी आयात गरिरहेको उनले बताए ।शंकर आचार्य/कान्तिपुर

