Madhes Khabar
राष्ट्रिय

रास्वपा सभापति रवि लामिछाने पक्राउ परे

काठमाडौं,२कार्तिक:सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । लामिछानेले साँझ पाैने ७ बजे पक्राउ पुर्जी बुझेर कागजमा हस्ताक्षर गरेका छन् । उनलाई अहिले स्थलमार्गबाट पोखरा लगिँदैछ ।

कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाप्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गीतेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो।

प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीबी राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसपछि जोशी गत असोज ६ गते नै पक्राउ परिसकेका छन् । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरी कास्की लगिएको थियो । लामिछानेलाई पनि त्यही प्रकरणमा पक्राउ गरी काठमाडौंबाट पोखरा लैजान लागिएको हो ।सनभार:ईकान्तिपुर

Related posts

हत्याका आरोपी विरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेपछि कलैयामा प्रदर्शन

MadhesKhabar

नवनियुक्त ३ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

MadhesKhabar

मिटरब्याजसम्बन्धी विधेयक संसदबाट सर्वसम्मतले पारित

MadhesKhabar

Leave a Comment