Madhes Khabar
कृषि हेडलाइन

पर्सा–बारामा टर्की,बट्टाई,कडकनाथ कुखुरा पालननतर्फ किसानहरुको आकर्षण बढ्दै

पर्सा,२०असोजःराष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरले टर्की र बट्टाईको चल्लाको माग धान्न सकेको छैन । किसानबाट अत्यधिक माग आएको तर त्यस अनुपातमा चल्ला उत्पादन हुन नसकेपछि माग धान्न गाह्रो भएको कार्यक्रम प्रमुख पूर्णभद्र चापागाईंले बताए ।

हाल कार्यालयमा अण्डा उतपदन प्रयोजनका लागि एक सय टर्की र तीन सयको संख्यामा बट्टाई पालिएको उनले बताए । देशभरिका किसानबाट हालसम्म एक हजार टर्कीको चल्ला बुक भइसकेको र त्यतिनै संख्यामा बट्टाइको चल्ला पनि बुक भइसकेको उनले बताए । गत वर्षनै प्रतिक्षा सूचीमा रहेका किसानको माग पुरा गर्न नसकिएकाले उनीहरुलाई यस वर्ष प्राथमिकतामा राखिने उनले बताए ।

जाडो याममा यी पन्छीले अण्डा दिने भएकाले त्यसै अनुरुप तालमेल मिलाएर चल्ला समेत उत्पादन गरिने भएकाले व्यावसायिक रुपमा यी पन्छी पालन गर्ने किसानहरु प्रतिक्षा सूचीमा राख्नु पर्ने बाध्यता रहेको उनले बताए । चल्ला उत्पादन हुन थालेपछि प्रतिक्षासूचीमा पहिले नाम भएकाहरुलाई प्राथमिकता दिई चल्ला बिक्री बितरण गरिने उनले बताए ।

‘हामीसंग अण्डा पार्ने माउ पन्छी धेरै भए चल्ला पनि धेरै उत्पादन हुन सक्छ, त्यसपछि किसानको माग धान्न पनि सहज हुन्छ,’ उनले भने, ‘हाल भने विद्युत कटौती बढी भएकाले अन्य पन्छीका चल्ला उत्पादन प्रयोजनका लागि ह्याचरी सन्चालन गर्न पनि कठिन अवस्था छ ।’

दसैँलगत्तै सबै पन्छीको चल्ला उत्पादन सुरु गरिने कार्यक्रममा सूचना अधिकृत एंंव वैज्ञानिक डा अजित कुमार झाले बताए । हालका दिनहरुमा पनि दैनिक चारदेखि पाँच किसानले टर्की र बट्टाईका चल्ला बुकिङ्ग गरिरहेको उनले बताए । वार्षिक २० हजार चल्ला उत्पादन गर्ने लक्ष्य रहेपनि चल्ला बिक्री बितरण भन्दा किसानलाई यी पन्छी पालन गर्न प्रोत्साहित गर्ने नीति रहेकाले त्यसै अनुरुप किसानलाई प्रोत्साहित गर्ने गरिएको उनले बताए । हाल बारा, पर्सा लगायतका जिल्लामा गरी ४ किसानले आफ्नै ह्याचरी सन्चालन गरेर चल्ला उत्पादन गरी बिक्री बितरण गर्न थालेको झाले जानकारी दिए ।

२ वर्ष यता स्थानीय जातको कुखुराका चल्ला उत्पादन गरेर पनि बिक्री बितरण गर्न थालिएको र यस्तो चल्लाको माग पनि अत्यधिक रहेको उनले बताए । शाकिनी, घाँटी उल्टे, प्वाँख उल्टे लगायतका स्थानीय जातको कुखुराका चल्ला पनि बिक्री बितरण गर्ने गरिएको उनले बताए ।

यसबाहेक गिरिराज, न्यु ह्याम्पसायर, ब्ल्याक अष्ट्रोलोप, कर्निस, कडकनाथ जातका कुखुरा, तित्रा आदिको पनि चल्ला उत्पादन गरी बिक्री बितरण गर्ने गरिएको उनले बताए ।शंकर आचार्य/कान्तिपुर

 

Related posts

बाराको बडहर्वा चोकबाट मानव सेवा आश्रमद्वारा एक बेवारिसे महिलाको उद्धार

MadhesKhabar

वीरगन्जको बालसुधार गृहमा संरचनाको अभाव हुदाँ थुनुवा बालकहरुलाई सास्ती

MadhesKhabar

वीरगन्जसहित तराई–मधेसमा अचाक्ली बढ्यो गर्मी

MadhesKhabar

Leave a Comment