बारा,६असोजःबाराको महागढीमाई नगरपालिका–२ बरियापुरस्थित विश्वप्रसीद्ध गढीमाई मन्दिर परिसरमा नवनिर्मित सुविधासम्पन्न एंव कलात्मक बहुउद्देश्यीय धर्मशालाको आइतबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । आइतबार मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले उक्त धर्मशालाको उद्घाटन गरेका हुन्
करिब ७ करोड रुपैयाँको लागतमा नवनिर्मित उक्त धर्मशालाको २०७६ साल जेष्ठ ४ गते तत्कालीन मधेस सरकारका भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शिलान्याश गरेका थिए । नवनिर्मित धर्मशालाको भुई तल्लामा विवाह मन्डप,हल,बेहुला–बेहुलीका लागि छुट्टा छुट्टै कोठा, स्टोर कक्ष तथा पहिलो तल्लमा १० वटा कोठा र २ हल रहेको छ ।
आइतबारको उद्घाटन कार्यक्रममा धर्मशाला निर्माणमा योगदान दिएबापत महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादव,गढिमाई मन्दिर सन्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह लगायतलाई कार्यक्रमका प्रमुख अतिथी मन्त्री यादवले कदरपत्र प्रदान गर्दै सम्मानितपनि गरे ।
कार्यक्रममा संविधानसभा सदस्य रामअयोध्या यादव, प्रदेश सभा सदस्यहरु बच्चा प्रसाद यादव, शारदा शंकर साह कलवार, महमद समीर, तत्कालीन जिल्ला विकास समितिका सभापति छठ्ठु यादव लगायतकोपनि सहभागीता थियो ।

