वीरगन्ज,०६ असोजःकबड्डी खेल्ने क्रममा घाइते भएका वीरगन्ज निवासी राष्ट्रिय कबड्डी खेलाडी सागर यादवको उपचारमा लागे खर्च मधेस प्रदेश सरकारले व्यवहोर्ने प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले आश्वासन दिएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राष्ट्रिय कबड्डी खेलाडी सागर प्रदेश स्तरीय कबड्डी प्रतियोगिता खेल्दै गर्दा लडेर दाहिने खुट्टा भाँचिएर गम्भीर घाइते भएका थिए ।काठमाडौंको ट्रमा सेन्टर अस्पतालमा खुट्टा र घुँडाको शल्यकृया गराएर उनि अहिले घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । मध्यम आर्थिक अवस्था भएका सागरको उपचारमा ५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारजनले बताएका छन् । अस्पतालमा १५ दिनसम्म राखेर उपचार गर्दापनि तीन तहका सरकारमध्ये कसैलेपनि सोधिखोजी नगरेको परिवारजनको गुनासो थियो ।
उक्त गुनासो बाहिर आएपछि आइतबार खेलकुद मन्त्री जयसवालले सागर र उनका परिवारजनलाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिए । त्यसक्रममा मन्त्री जयसवालले उपचारमा लागेको खर्च प्रदेश सरकारले व्यवहोर्ने आश्वासनपनि दिए ।अस्पतालमा उपचारमा लागेको खर्चको बिलसहितको निवेदन आँफुलाई उपलब्ध गराउन वा मन्त्रालयमा पेश गर्न परिवारजनलाई आग्रह गर्दै मन्त्री जयसवालले भने,‘उपचार खर्चको बीलसहितको कागज र निवेदन पेस गर्नु होला । निवेदन पाउनासाथ हामीले त्यसको भुक्तानीका लागि तुरन्तै प्रकृया अगाडी बढाई हाल्छौ ।’
खेलकुदमन्त्री जयसवालले खेलाडीहरु यस्तै प्रकारको समस्यामा पर्दै आएकाले यसको दिर्घकालीन समाधानका लागि प्रदेश सरकारले खेलाडी बीमा’ कार्यक्रम यसै चालु आर्थिक देखि लागु गर्नका लागि गृहकार्य भइरहेको जानकारीपनि गराए ।
हालै बंगलादेशमा सम्पन्न बंगबन्धु कबड्डी प्रतियोगितामा नेपाललाई दोस्रो स्थानमा पुर्याउन नेपालली टिममा सहभागी यादवले महत्वपूर्ण योगदान गरेका थिए ।

