काठमाडौं,७जेष्ठः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिट ’हेर्न नभ्याइने’ भएको छ। न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा रिटमाथि सुनुवाइका लागि सोमबारका लागि पेशी तोकिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सोमबार लिएको विश्वासको मतको मतदान प्रक्रियामा सहभागी हुन नदिन जसपा नेपालका अध्यक्ष यादवले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए। प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। उनको पक्षमा १५७ सांसदले मत दिएका थिए।
जसपा नेपालबाट फुटेर दर्ता भएको अशोक राई नेतृत्वको जसपाका सातजना सांसदलाई प्रधानमन्त्री ’प्रचण्ड’ लाई विश्वासको मत दिनबाट रोक्न यादव सर्वोच्च पुगेका हुन्।
यसअघि सर्वोच्च अदालतले राई नेतृत्वको जसपालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। जसपा नेपालबाट फुटेर दर्ता भएको जसपाको निर्णय यथास्थितिमा राख्न दिएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनको माग गर्दै अध्यक्ष यादव सर्वोच्च पुगेका हुन्। जसपामा अध्यक्ष राईसहित सुशीला श्रेष्ठ,नवलकिशोर साह,प्रदीप यादव,रञ्जु झा,वीरेन्द्र महतो र हसिना खान सांसद छन्।
यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर ७ जना सांसदले २०८१ साल वैशाख २३ गते छुट्टै दल दर्ता गराएका थिए। निर्वाचन आयोगले सो दललाई वैशाख २४ गते दर्ता गरेको थियो। आयोगको निर्णयविरुद्ध यादवले सर्वोच्चमा रिट दायर गरेका थिए।
राई नेतृत्वको जसपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको छ। जसपाबाट प्रदीप यादव स्वास्थ्य मन्त्री,नवलकिशोर साह सुडी वनमन्त्री र हसिना खान राज्यमन्त्री छन्।साभार : अन्नपूर्णपोष्ट

