वीरगन्ज,२०बैशाखःनेकपा एमालेको पर्सा जिल्ला अध्यक्षमा डाक्टर विश्वम्भर शर्मा सर्वसम्मत चयन भएका छन् ।वीरगन्जमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा शर्मा सर्वसम्मत चयन भएका हुन् ।शर्मा , यसअघि जिल्ला संयोजक थिए । अध्यक्षमा संविधानसभा सदस्य जयप्रकाश थारुलेपनि दाबी गर्दै आएको भएपनि नेताहरुको प्रयासमा उनले आफनो दाबी फिर्ता लिएपछि अध्यक्षमा शर्मा सर्वसम्मत चयन भएका हुन् ।अध्यक्षमा शर्मा सर्वसम्मत चयनभएपनि उपाध्यक्षसहित चार पदाधिकारीको पदमा भने निर्वाचन नै हुने भएको छ । एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका शुक्रबार बिहान मतदान हुने प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले जानकारी दिए ।
उपाध्यक्ष पदमा मनोज गुप्ता र लालबाबु शेख ,सचिव पदमा महेस दास र नवराज शर्मा ,उपसचिव(खुल्ला) मा रामिकिशोर सिंह पराग ,नविजान मियाँ अन्सारी र इमरान हुसेन तथा उपसचिव(महिला) मा सीतादेवी लामा र गीता देवी भण्डारीको उम्मेदवारी परेको छ । यस्तै जिल्लाका १४ वटा पालिकामध्ये वीरगन्ज महानगरपालिकासहित केहि पालिकाको सदस्य पदकालागि पनि शुक्रबार मतदान हुने ढकालले जानकारी दिए ।
यस्तै लेखा समितिको उपाध्यक्षमा गोविन्द प्रताप श्रेष्ठपनि सर्वसम्मत चयन भएका छन् ।लेखा समितिको अध्यक्षमा भने सन्तोष कुमार सिंह र शीवजी गुप्ताको उम्मेदवारी परेकाले उक्त पदका लागिपनि चुनाव हुने भएको छ ।
एमालेको नवौं जिल्ला अधिवेशन गत सोमबारदेखि सुरु भएको थियो । सोमबार उद्घाटन समारोह सम्पन्न भएको अधिवेशनको बन्दसत्र मंगलबार सकिएपछि लगत्तै त्यहिदिन देखि नयाँ कार्य समिति चयनका लागि निर्वाचन प्रकृया सुरु भएको थियो । सर्वसम्मति मै जिल्ला कार्य समिति चयनका लागि नेताहरुले निरन्तर प्रयासद गर्दै आएकोमा बिहीबार अध्यक्ष पदमा मात्र सर्वसम्मत हुन सकेको हो ।
उपाध्यक्षसहित बाँकी चार पद र केहि सदस्य पदमा एक भन्दा बढीको दाबेदारी कायमै रहेपछि ती पदमा सर्वसम्मत हुन नसकेकोले शुक्रबार मतदान हुन लागेको ढकालले बताए । शुक्रबार हुने मतदानमा ५ सय ८४ जना मतदाता सहभागी हुने ढकालले जानकारी दिए ।

