काठमाडौं,२०बैशाखः नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी–२० सिरिजको चौथो खेलमा जित निकालेको छ ।किर्तिपुरको त्रिवि क्रिकेट मैदान बिहीबार भएको खेलमा वेस्ट ईन्डिज २८ रनले विजयी भएको हो । यो जितसँगै वेस्ट इन्डिज ए ले एक खेल अगावै पाँच खेलको टी–२० सिरिज ३–१ ले जितेको छ ।
वेस्ट ईन्डिजले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको अन्तिम बलमा अल आउट हुदै १ सय ८१ रन मात्र बनायो ।नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ८२ रनको अर्धशतकीय ईनिङ खेले । दीपेन्द्रसिंह ऐरीले १९ र अभिनास बोहोराले ८ बलमा अविजित १७ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो ।वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचर तथा जोनसन चाल्सले अर्धशतकीय ईनिङ खेले । फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्काको सहयोगमा अविजित ८४ रन बनाए । चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्काको सहयोगमा ५८ रन बनाए । फेबियन एलेनले १९ बलमा २ चौका र ३ छक्काको सहयोगमा अविजित ३३ रन बनाए ।नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए ।
यसअघि भएका तीन खेलमा नेपालले एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको थियो । पाँचौ तथा अन्तिम खेल आगामी शनिबार हुनेछ ।

