वीरगन्ज,१९बैशाखःपर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ गादीको रंगपुरटाँडीमा आधुनिक कृषि बजार निर्माण गर्न थालिएको छ ।
किसानका उत्पादन संकलन र बिक्री वितरणका लागि रंगपुर टाँडीमा १ करोड रुपैयाँ भन्दा बढीको लागतमा आधुनिक कृजि बजार निर्माण गर्न थालिएको हो ।मंगलबार गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले कृषि बजार निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र गाँउपालिकाको गरी कूल १ करोड ९ लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार निर्माण गर्न थालिएको गाँउपालिका अध्यक्ष चौधरीले बताए ।उनका अनुसार, आधुनिक कृषि बजारमा किसानले उत्पादन गर्ने तरकारी संकलन र बिक्रीवितरणका लागि ६ वटा व्यवस्थित पक्की सेड, एउटा शौचालय र कम्पाउन्ड वाल निर्माण गरिनेछ । यस्तै किसानका तरकारी भण्डारणका लागि कृषि बजार परिसरमै १९ लाख ५० हजार रुपैयाँको लागतमा मिनि कोल्ड स्टोरपनि निर्माण गर्न थालिएको चौधरीले जानकारी दिए ।
कृषि बजारको निर्माणको ठेक्का वन देवी निर्माण सेवा कम्पनिले सकारेको छ । आगामी असार मसान्तभित्र कृषि बजार निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनिसंग सम्झौता गरिएको जानकारीपनि चौधरीले दिए ।
वडाध्यक्ष विजय गैरेको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष ममता महतो थारु, प्रमुख प्रशासकीय अधिकृत प्रमुख देवनाथ साह, समाजसेवी महेन्द्र चौधरी, कालकुमार बस्नेत लगायतकोपनि उपस्थिती थियो ।

