वीरगन्ज,१७ बैशाखः वीरगन्ज महानगरपालिकाको वडा नम्बर ९ र १० को सिमानामा पर्ने घडिअर्वा पोखरी हुदैं रानिघाट जाने २१० मिटर सडक ढलानको काम तीव्र गतिमा भइरहेको छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्व प्रदेशसभा सदस्य ओम प्रकाश शर्माको पहलमा मधेस प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँको लागतमा सडक ढलानको काम भइरहेको हो ।
सडक ढलान कार्यमा स्थानीयले जन श्रमदान पनि गरिरहेका छन् । सडक ढलान भएपछि आजाउमा सहज हुने भएकाले खुशी हुदैं स्थानीयले स्वस्फूर्त रुपमा जन श्रमदानपनि गरिरहेको वडा नम्बर १० का पुर्व वडाध्यक्ष रामनगीना साह कानुले बताए ।कानुले अहिले आफ्नो वडामा भइरहेको सडक ढलान, कालोपत्रे सडकको तुलनामा टिकाउ हुने भएकाले ढलान सडक निर्माणलाई प्राथमिकता दिएकोमा मधेस प्रदेश सरकार र बजेटका लागि पहल गरिदिएका पुर्व मन्त्रीसमेत रहेका पूर्व प्रदेशसभा सदस्य शर्मालाई धन्यवादसमेत दिए ।
प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट सडक निर्माण सुरु गरेपनि आफ्नो ठाउको विकास हुदाँ आफुहरुको पनि केही योगदान रहोस् भनेर श्रमदान गरिरहेको स्थानीयबासिन्दासमेत रहेका नेपाली कांग्रेस पर्साका सदस्य हिरालाल साह कानुले बताए ।पूर्वमन्त्री शर्माकै पहलमा वीरगन्ज –१० मा रहेको शीव पार्वती धर्मशालाको लागिसमेत प्रदेश सरकारले १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

