जनकपुरधाम,१३बैशाखः धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा बिहीबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।
एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक रञ्जन अवाले बताए ।
प्रहरी नायब उपरक्षिक अवाका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेका थिए। ती दुई जोडी अहिलेसम्म पनि नआएपछि युवतीी पक्षकाले बिहीबार बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्।
‘प्रदर्शन नियन्त्रण गर्न गएको प्रहरीको ठुलो गाडीमा प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाई दिए पछिको स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको हो। स्थिति नियन्त्रणमा आइसेको छ’, अवाले भने।
पौडेसरका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का दुई जना युवकले भगाएर लगेका छन्। ती दुई जोडी अहिलेसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन्। प्रहरीले आफ्ना छोरीहरू खोज्न कुनै पहल नगरको र केटा पक्षले पनि छोरीहरू खोजी नगरको आक्रोशमा युवती पक्षकाहरुले प्रदर्शन गरेको हो।साभार : नागरिकबाट