Madhes Khabar
रोचक दुनियाँ स्वास्थ्य

नेपालमा पहिलोपटक ज्वाइँले दिए सासूलाई कलेजो दान

काठमाडौं,२५फाल्गुनःनेपालमा पहिलोपटक ज्वाइँले सासूलाई कलेजो दान दिएका छन्। अंग दिने पुरुषको संख्या निकै न्यून रहेको नेपालमा पहिलोपटक ज्वाइँले सासूलाई कलेजो दिएका हुन्।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको कलेजो प्रत्यारोपणमा ६५ वर्षीया सासू लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन्। सफल कलेजो प्रत्यारोपणपश्चात् उनीहरूलाई अस्पतालले डिस्चार्ज गरेको हो।

मानव अंग प्रत्यारोपणमा हालसम्म गरिएका २२ जनाको कलेजो प्रत्यारोपण हुँदा दुईजना मात्र महिला छन्। र, पुरुषमा गरिएका अन्य प्रत्यारोपणमा अंग दिनेमा पनि अधिकांश महिला नै छन्।

कलेजो प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा गरिएको सो प्रत्यारोपण अस्पतालका लागि पनि उदाहरणीय बनेको चिकित्सकले बताएका हुन्।

नेपालमा हालसम्म भएका मिर्गौला र कलेजो प्रत्यारोपणमा महिला अंगदाताको संख्या अत्यधिक छ। तर, पुरुष अंगदाताको संख्या न्यून रहेको अस्पतालहरूको तथ्यांकले देखाउँछ। मानव अंग प्रत्यारोपण केन्द्रमा हालसम्म गरिएका एक हजार दुई सय १२ मिर्गौला प्रत्यारोपणमा अंगदाता महिला आठ सय ७३ (७२%) छन् भने पुरुष तीन सय ३९ (२८%) छन्।

यस्तै, अंग लिनेमध्ये ग्रहणकर्तामा महिला जम्मा २१ प्रतिशत छन् भने अंग लिने पुरुषको संख्या ७९ प्रतिशत छ। अर्थात् हालसम्म दुई सय ४६ जना महिला र नौ सय ५६पुरुष छन्। अंग दिनेको संख्या महिलाको धेरै भए तापनि लिनेको संख्या निकै न्यून भएको समयमा ज्वाइँले सासूलाई कलेजो दिनु उदाहरण बनेको डा. पुकार श्रेष्ठले बताएका छन्।

नेपालमा कलेजो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सुरु गरेको थियो। भक्तपुरका बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दिई नेपालमा पहिलो कलेजो प्रत्यारोपणको सुरुवात भएको थियो। प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणसमेत नियमित गरिरहेको छ। साभारःनयाँपत्रिकाबाट

Related posts

पर्सामा हैजाविरुद्धको खोप अभियानमा ९० प्रतिशत सफलता

MadhesKhabar

वीरगन्जको बयोधा मेडिसिटी अस्पतालले असुलेको रकम फिर्ता गर्न जनमत पार्टीको माग

MadhesKhabar

वीरगन्जमा रहेको शुभलाभ फार्मालिंकको औषधि बेचबिखनमा प्रतिबन्ध

MadhesKhabar

Leave a Comment