काठमाडौं,१६फाल्गुनःभारतको उत्तर प्रदेश राज्यको झाँसीमा बेहुला नआएपछि बेहुलीले आफनै भिनाजुसंग बिहे गरेको घटना प्रकाशमा आएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत मंगलबार विभिन्न जोडीको सामुहिक विवाह कार्यक्रम थियो ।
उक्त कार्यक्रममा झाँसीको बामोर निवासी खुशी नाम गरेकी युवतीको विवाह मध्यप्रदेशको छतरपुर निवासी बृषभानसँग हुने तय भएको थियो । सामूहिक विवाहमा उनीहरुको रजिस्ट्रेसन नम्बर ३६ थियो ।
तर विवाह सकिनासाथ बेहुलीले आफ्नो सिन्दुर र टीका पुछेकी थिइन् । सोधपुछका क्रममा उनले आफ्नै भिनाजुसँग विवाह गरेको पाइएको हो । खुशीको सिउँदोमा सिन्दुर भरेका पुरुषले आफ्नो नाम बृषभान नभएर दिनेश रहेको बताएका थिए ।दिनेशका अनुसार खुसीसँग बृषभानकै विवाह हुने तय थियो । तर सामूहिक विवाह कार्यक्रममा बेहुला आइनपुगेका कारण आफूले विवाह गरेको उनले बताए । उनले आफू विवाहित रहेको र खुशी साली पर्ने पनि जानकारी दिए ।
दिनेशका अनुसार सरकारी अधिकारीहरुकै सल्लाहमा उनी बृषभानको ठाउँमा बेहुला बनेका थिए । विवाह समारोहमा सरकारका तर्फबाट प्राप्त हुने आर्थिक सहयोग हासिल गर्नका लागि यस्तो खेल भएको स्रोत बताउँछ ।
बेहुली खुशीले टाढाबाट आउनु परेका कारण समयमै बेहुला आइनपुगेपछि आफूले भिनाजुसँग विवाह गरेको बताइन् । ‘यो गलत हो भन्ने मलाई थाहा छ, तर हाम्रो पनि समस्या थियो, फर्म भरिसकिएको थियो, सबै कुरा अनलाइन दर्ता भइसकेको थियो,’ उनले भनिन्, ‘म मण्डमा पुगिसकेकी थिएँ, त्यसैले विवाह गर्नुप¥यो ।’
समाज कल्याण अधिकारी ललिता यादवले यसबारे उजुरी परेमा आवश्यक कारबाही गर्ने बताएकी छन् ।एजेन्सी