Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

बारामा ३० प्रतिशतसम्म घट्यो जग्गाकाे भाउ

बारा,२बैशाख:राष्ट्रिय गौरवका महत्वाकांक्षी आयोजना तथा मुलुककै ठूलो औद्योगिक करिडोर रहेको बारा जिल्लामा जग्गाको भाउ ३० प्रतिशतसम्म घटेको छ। निजगढ, सिमरा र कोहल्बीमा दुई वर्ष अघिसम्म चुलिएको घरजग्गा कारोबार सुस्त हुनुका साथै मूल्यमा पनि भारी गिरावट आएको हो।

मालपोत कार्यालय सिमराको तथ्यांक हेर्ने हो भने यी तीन पालिकामा दुई वर्ष अघिसम्म जग्गा किनबेचमा प्रतिष्पर्धाजस्तै देखिन्छ।तर अहिले कारोबारमा शिथिलता आएसँगै राजस्व पनि घटेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १३ करोड ३३ लाख रजिष्ट्रेशन असुली र १ करोड २६ लाख लाभकर संकलन भएको छ। यो दुई वर्षयताकै न्यून हो। कार्यालय प्रमुख पल्लवी कुमारी कर्णले संकलित राजस्वले नै जग्गा किनबेचको तथ्यांक प्रष्ट पार्ने बताउँदै घरजग्गा कारोबार २० देखि २५ प्रतिशतमा खुम्चिएको जानकारी दिइन्।

जग्गा तथा आवास विकास संघ बाराले भने मालपोतको कारोबारले घरजग्गा बजारको यथार्थ चित्र नदेखाउने बताएको छ। संघका अनुसार बैंक तथा वित्तीय संस्थाले घरजग्गा लिलाम गर्ने क्रम बढाएका छन्। लिलामीमा चढाइएको र बिक्री नभएको घरजग्गा गैरबैंकिङ सम्पत्तिका रूपमा बैंकले सकार्दा त्यसलाई पनि मालपोत कार्यालयमार्फत पारित गराउनुपर्छ। त्यस्तो सम्पत्ति पनि कारोबारका रूपमा देखिँदै आए पनि त्यसलाई घरजग्गाको कारोबार भन्न नमिल्ने संघको भनाइ छ।

संघका सदस्य ज्ञानु लामिछानेले आयोजनाले थपेको उत्साहसँगै सुरु भएको तीनै नगरका हजारौं बिगाहमा बनाइएको सुविधायुक्त प्लटिङको किनबेच हाल पाँचदेखि सात प्रतिशतको बीचमा भएको मान्न सकिने बताए। ठूला आयोजनाकै कारण करोडौं लगानीमा खरिद गरेको ठूलो प्लटको जग्गाको भाउ हाल सामान्य दरमा थोरै मात्रामा किनबेच भइरहेकाले तत्काल सुधार हुने संकेत नदेखिएको बताए।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं–निजगढ द्रुतमार्ग, सिमरा सेज, पूर्व–पश्चिम रेल, निजगढ स्मार्ट सिटीलगायत योजनाको चर्चा र निर्माणले चुलिएको यस क्षेत्रको घरजग्गाको कारोबार आर्थिक मन्दीसँगै ठप्पजस्तै बनेको छ। केही वर्षअघि घरजग्गाको बिक्री मधेश प्रदेशमै उच्च भए पनि हाल सामान्य किनबेचमा सीमित भएको छ। घरजग्गा कारोबार सुस्त भएका कारण अर्थतन्त्र नै शिथिल भएपछि सरकारले कारोबार चलायमान बनाउन नीतिगत पहल सार्दै आए पनि खरिदभन्दा बिक्री गर्नेको संख्या उच्च रहेको संघले जनाएको छ। कर्जामा भएको कडाइ केही खुकुलो बन्दै गए पनि जग्गाको मूल्य घट्दो क्रममै छ। आगामी दिनमा व्यवसायले गति लिने आशामा ठूला कारोबारी घटेको मूल्यमा जग्गा बेच्न तयार देखिएका छैनन्।

संघका सदस्य लामिछानेले भने, ‘८० प्रतिशतसम्म जग्गा कारोबारीले बैंक र सहकारीबाट कर्जा लिएर घरजग्गा वित्तीय संस्थाको नाममा राखी बिक्री गर्न थालेका छन्। केही बिक्री भए पनि अधिकांश बिक्री भएको छैन। ब्याज र किस्ता तिर्न नसक्दा धमाधम लिलाममा चढिरहेको छ। लिलाम सकार गर्नमा पनि उत्साह देखिएको छैन।’ पछिल्लो समय यस क्षेत्रको जग्गामा गरेको कर्जा प्रवाहमा अधिकांश बैंक तथा वित्तीय संस्थासमेत दबाबमा पर्न थालेका छन्। लगानी गरेको कर्जाको साँवा–ब्याज नउठेपछि धितो लिलाम बढाउँदै लगेको बैंकरहरुले बताउने गरेका छन्।

जग्गा तथा आवास विकास संघ बाराका अध्यक्ष लक्ष्मण कँडेलले तीन–चार वर्षअघि खरिद गरेको मूल्यमा २० देखि ३० प्रतिशत कम गर्दा पनि जग्गा किनबेच हुन नसकेको बताए। उनले भने, ‘राजमार्गको भित्री बाटोमा रहेको राम्रो घडेरी तीन लाख धुरमा किन्ने मान्छे पनि छैनन्।’ विकासका ठूला संरचनाले मानिसको ध्यान तानेपछि यहाँ घरजग्गा कारोबारले तिव्रता पाएको थियो। जिल्लामा रहेका गौरवका आयोजनाले गति नलिनु, औद्योगिकरण रोकिनु, रोजगारीका अवसर नबढ्नुलगायत कारण यस क्षेत्रमा घरजग्गामा बढ्दै गएको आकर्षण घटेको व्यवसायीहरुको भनाइ छ।साभार:काराेबार

Related posts

सिर्सिया नदी प्रदुषित गर्ने उद्योग सिल गर्ने तयारी महानगरले गरेपछि उद्योगीले मागे १५ दिनको समय

MadhesKhabar

पर्साको सीडीओ कार्यालयमा बसेको सर्वक्षीय बैठकमा के के भयो निर्णय ?….

MadhesKhabar

सरकारकाे लापरबाहीले पर्साका किसानहरु धान सस्ताे भाउमा बिचाैलियालाई बेच्न बाध्य

MadhesKhabar

Leave a Comment