वीरगन्ज,२७चैत:भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा मंगलबार राति भएकाे सनराइजर्स हैदराबादले पन्जाब किंग्समाथि राेमाञ्चक जीत हात पारेको छ ।पञ्जाबको घरेलु मैदान मुल्लानपुरमा भएको खेलमा हैदराबादले पञ्जाबलाई २ रनकाे झिनाे अन्तरले हराएको हाे ।
हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रनमात्र बनाउन सक्याे ।
पन्जाबका लागि शशांक सिंहले २५ बलमा ६ चौका र १ छक्काको सहयोगमा अविजित ४६ रनको इनिङ खेले । आशुतोष शर्माले १५ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित ३३ रन बनाए । साम करनले २२ बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रन बनाए ।
हैदराबादका लागि भुवेनेश्वर कुमारले दुई तथा जयदेव उनान्दकड, प्याट कमिसं, टि नटराजन र नितिशकुमार रेड्डीले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
हैदराबादका लागि रेड्डिले ३७ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । अब्दुल समादले १२ बलमा ५ चौकाको सहयोगमा २५ रन बनाए । छैटौं विकेटका लागि रेड्डि र समादले २० बलमा ५० रनको साझेदारी गरेका थिए ।
ओपनर ट्राभिस हेडले १५ बलमा ४ चौकाको सहयोगमा २१ रन बनाए । शाहबाज अहमदले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १४ रन बनाए । अभिषेक शर्माले १६ तथा राहुल त्रिपाटीले ११ रन बनाए ।
पन्जाबका लागि अर्शदिप सिंहले चार तथा हर्षल पटेल र साम करनले समान दुई दुई तथा कागिसो रबाडाले एक विकेट लिए ।
पाचौं खेलमा तेस्रो जित निकालेको हैदराबाद ६ अंकका साथ पाँचौ स्थानमा छ । पाँचौ खेलमा तेस्रो हार व्यहोरेको पन्जाब छैटौं स्थानमा छ ।
चार खेलमा अपराजित राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा छ ।

