वीरगन्ज,२चैत:जसपा नेपालका प्रमुख सचेतक प्रदीप यादवले वीरगन्जको नारायणी अस्पतालकाे ५ सय शैयाकाे भवन निर्माण बारे अदालतमा परेकाे मुद्दाकाे छिट्टै निकास दिन सर्वाेच्च अदालत र सरकारकाे ध्यानाकर्षण गराएका छन्।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा विशेष समयमा बाेल्दै पर्सा क्षेत्र नम्बर १ का सांसद समेत रहेका यादवले सर्वाेच्च अदालतमा वर्षाैंदेखि विचाराधीन मुद्दाकाे निकास दिन सर्वाेच्च र सरकारकाे ध्यानाकर्षण गराएका हुन्।
उनले भने,` नारायणी अस्पतालमा भौतिक संरचनाको अभावले बिरामीले सास्ती भोगिरहेका छन् ।नारायणी अस्पतालमा पाँच सय शैय्याको सुविधा सम्पन्न भवन बनाउने निर्णय सरकारले २०७६ सालमै गरेकाे थियाे।तर बदमाश ठेकेदारले अदालतमा मुद्दा हालेपछि उक्त भवन निर्माणको काम अन्याैलमा परेकाे छ।´
२०७६ बैशाख ८ गते संघीय सरकारले १ अर्ब ५० कराेडकाे लागतमा पाँच सय शैय्याकाे भवन बनाउने निर्णय गर्दै बोलपत्र आह्वान गरेको थियो ।तर सहरी विकास तथा भवन निर्माण विभागले केही कागजात र भौचरको नाम फरक भएको कारण ठेक्का रद्ध गरिदिएकाे थियाे ।फेरि सरकारले अर्को बोलपत्र आह्वान गर्यो । त्यसविरुद्ध पहिले ठेक्का पाएकाे ठेकेदार कम्पनीले उच्च अदालतमा रिट दायर गर्यो ।उच्च अदालतले १७ कात्तिक २७७ मा दोस्रो बोलपत्र रद्ध गरिदियाे । उच्च अदालतकाे आदेशविरुद्ध २ पुस २०७७ मा भवन निर्माण विभागले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकाेमा उक्त मुद्दा अहिलेसम्म विचाराधीन नै छ ।
सांसद यादवले भने,`मुद्दा पटक पटक पेशीमा चढ्छ, सुनुवाइ हुँदैन, फैसला पनि हुँदैन।´ विभाग र ठेकेदारको लडाइमा नारायणी अस्पतालको पाँच सय शैय्याको भवनको निर्माण ओझेलमा परेको भन्दै यादवले भने,` बिरामीले सास्ती भोगिरहेकाले तत्काल उक्त मुद्दाको छिनोफानो गरेर निकास दिन सरकार र सर्वोच्च अदालतको ध्यानाकर्षण गराउँदछु ।´
सांसद यादवले विकसित मुलुकहरुको दादागिरीले नेपालभर जलवायु परिवर्तनको असर देखा परेको आराेपपनि लगाए।उनले भने,`नेपालमा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमाल पग्लेको छ भने मधेसका जिल्लामा पानीको मुहान सुकिरहेको छ ।
हालै कोप २८ मा भाग लिँदा नेपाल सरकारले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता जनाएको पनि त्यसअनुरुप सरकारले तीव्र गतिमा काम नगर्दा यो अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
उनले भने,`मधेसका जिल्लामा पानीको मुहान सुकिरहेको छ । वीरगन्जमामात्रै अधिकांश चापाकल फेरि सुक्ने क्रममा छन्। गर्मीको दिन आइसकेकाले अबका केही दिनमा वीरगन्जजका सबै चापाकल सुक्छ जानकारले बताइरहेका छन् । सबै चापाकलको पानि सुक्यो भने वीरगन्जजमा फेरि पानीको अभावले विकराल अवस्था आउँछ,’ ।
कुनै बेला सय फिटमा पानी आउने मधेस प्रदेशमा अहिले ३ सयको लेयरमा पनि पानी नभेटिएको भन्दै सांसद यादवले सरकारी धारा जडानका लागि खानेपानी संस्थानमा सेवाग्राहीको भिड भइरहेको बताए । ‘जनशक्ति र बजेटको अभावमा खानेपानी संस्थानलाई धेरै समस्या भएको छ,’ उनले भने, ‘वीरगन्जमा खानेपानीको अभाव अन्त्य गर्नको लागि नेपाल सरकारको एक्सन प्लान के छ ?’

