वीरगन्ज,२९फाल्गुन:पर्सामा यहि फाल्गुन २१ गते जन्तीलाई बेहुली पक्षले भोजमा माछा नखुवाएको निहुँमा कुटपिट भई भाँडिएको विहे बेहुला र बेहुली दुवै पक्षको सहमतिमा सोमबार राति सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
पर्साकोे विन्दवासीनी गाँउपालिका वडा नम्बर ४ मधवल टोलका हरेन्द्र साहको घरमा सखुवाप्रसौनी गाँउपालिका ५ देउरबानाका धुरी साहको घरबाट जन्ती आएको थियो ।जन्तीमा आएकाहरुलाई बेहुली पक्षले भोजमा माछा नखुवाएको निहुँमा दुवै पक्षबिच विवाद भई कुटपिटपनि भएको थियो भने जन्तीहरु भागेका थिए।कुटपिटबाट बेहुलाका बुबा सामान्य घाइतेपनि भएका थिए ।
त्यसक्रममा बेहुली पक्षकाहरुले बेहुलालाई रातभर नियन्त्रणमा लिएर राखेका थिए । यो खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाका ईन्चार्ज प्रहरी निरीक्षक मोहन विक्रम केसीको नेतृत्वमा गएको प्रहरी टोलीले बेहुलालाई उद्दार गरी प्रहरी कार्यालयमा लगेको थियो । फाल्गुन २२ गते मंगलबार इलाका प्रहरी कार्यालय पोखरीयामा दुवै पक्षबिच भएको छलफलमा बेहुलीले विहे गर्न अस्वीकार गरेपछि प्रहरीले बेहुलालाई उनको घर पठाइदिएको थियो । छलफलमा बेहुली पक्षले विहेमा आफनो १२ लाख रुपैयाँ खर्च भइसकेको भन्दै उक्त रकम बेहुला पक्षबाट फिर्ता पाउनुपर्ने अडानसमेत राखेको थियो भने तर बेहुला पक्षले एक रुपैयाँपनि नतिर्ने अड्डी कसेका थिए ।
त्यसपछि स्थानीय जनप्रतिनिधी र दुवै पक्षका सामाजिक अगुवाहरुले गत शनिबार बेहुला र बेहुली दुवैपक्षलाई राखेर सहमति गराएपछि फाल्गुन २१ मा भाँडिएको विहे सोमबारराति अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सामाजिक अगुवा रामप्रवेश साहले बताए । उनले भने,‘ सोमबार बेहुलासहित केटा पक्षका १०/१२ जना फेरि जन्ती लिएर बेहुलीको घरमा आए । राति विवाह भयो । विवाहको विधी सकेपछि बेहुला बेहुलीलाई लिएर आफनो घर फर्किए ।’

