वीरगन्ज,१३फाल्गुन:पर्साकाे जिराभवानी गाउँपालिका वडा नम्बर १ चमरी टोलमा भएकाे आगलागीबाट चार वटा फुसकाे घर जलेर नष्ट भएको छ ।चमरी टाेलमा आइतबार दिउँसो १२ बजेतिर भएकाे आगलागीबाट स्थानीय मुन्ना नटको ४ वटा फुसको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ४ वटै घर जलेर खरानी हुनुका साथै घरभित्र रहेका लत्ताकपडा, गरगहना, अन्नपात,काठका सामान सबै जलेर नष्ट भएको पिडित नटले बताए ।छोरा बुधनको एक महिनापछि विवाह रहेको र विवाहको तयारीका लागि खरिद गरेर राखिएको लत्ता कपडा, चामल, गरगहना, श्रृङ्गारका सामग्री लगायतका सबै सामान जलेर नष्ट भएको उनले बताए ।
प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।आगाे वीरगन्जबाट गएकाे वारुण यन्त्रकाे मदतमा स्थानीय र प्रहरीले मिलेर निभाएका थिए।
यसैबिच आगलागीबाट पिडित नट परिवारलाई आइतबार नै वीरगन्जस्थित निखिल ज्वेलर्सको सहयोगमा प्राप्त चामल, दाल, तेल, नुन, चिउरा, मसला लगायतका सामान राहत सहयोगस्वरुप हस्तान्तरण गरिएकाे सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।

