काठमाडौं,२९माघ:नेपालले क्याडनाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ।
यसअघि सुरुवाती दुई खेल जितेर सिरिज कब्जा गरेको नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएकाे तेस्रो खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको हो।
नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा पूरा गर्यो।
नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्की दुवैले शतक प्रहार गरे। अनिलले अविजित ११२ रन र अविजित १०१ रन बनाए। अनिलले १२४ बलमा १२ चौका र २ छक्का तथा भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गरे।
भीम र अनिल दुवैले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन्। यस्तै नेपालका लागि एकै इनिङ्ग्समा दुई खेलाडीले शतक प्रहार गरेको यो पहिलो पटक हो।
नेपालका ओपनर ब्याटर कुशल भुर्तेल १३ रन बनाएर आउट भए।हेलिङगरको बलमा बोल्ड हुनअघि कुशलले १४ बलमा ३ चौका प्रहार गरे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको थियाे।
क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए।
त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। नेपालका लागि एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका धामीले चोटका कारण यू-१९ गुमाएका थिए।
निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए।
विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। निखिल दत्ताले ४५ रन र कप्तान शाद बीन जाफरले ३१ रन बनाए
बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १-१ विकेट लिए।
फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग-२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो। लिग-२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

