काठमाडौं,२५माघ:क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे खेलमा नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २ सय १७ रन बनाउँदा अल आउट भएपछि जीत नेपालकाे पाेल्टामा गएकाे हाे। १ सय ७४ रन बनाउँदा ४ विकेट गुमाएको क्यानडाले त्यसपछि ४३ रन जोड्दा ६ विकेट गुमायो ।
क्यानडाका निकोलस किर्तोनले ६८ र प्रगत सिंहले ५० रन बनाए । नेपालका कप्तान रोहित पौडेलले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २ सय २४ रन बनायो । नेपालका कुशल भुर्तेलले अर्धशतक बनाए । भुर्तेल ५८ बलमा ६२ रन बनाएर आउट भए । यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २० रन बनाए । क्यानडाका उदय भगवानले ३ विकेट लिए ।
नेपाल र क्यानडाबीच ३ वटा खेलको शृङ्खलाको दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार हुनेछ ।

