वीरगन्ज,२१माघ:वीरगन्जकाे पिपरामा यहि माघ २८ गतेदेखि हुन लागेको ९ दिने श्री विष्णु महायज्ञको तयारी अन्तिम चरणमा पुगेको महायज्ञ व्यवस्थापन मूल समितिले जनाएको छ।आइतबार पत्रकार सम्मेलन गरेर समितिले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएकाे हाे।
वीरगन्जकाे पिपरास्थित चिनीमिलकाे जग्गामा हुने महायज्ञ महायज्ञको कलश यात्रा भने माघ २७ गते बिहान निकालिने र महायज्ञ माघ २८ गतेदेखि सुरु हुने पत्रकार सम्मेलनमा महायज्ञका संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास महराज(पगला बाबा) ले जानकारी गराए ।
उनका अनुसार महायज्ञमा १०८ कुञ्जमा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गर्ने कार्यक्रम छ ।महायज्ञमा रामचरितमानस पाठ प्रवचन, रामलीला, रासलीला, रामायण पाठसहितका कार्यक्रमहरुपनि हुनेछन्।
९ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनका लागि भण्डाराको व्यवस्था गरिएको समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा संविधानसभा सदस्य अनिल रुङ्गटा,समाजसेवी मुर्लीधर रुङ्गटा, वीरगन्जका पूर्वमेयर विजय सरावगी,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान लगायतकोपनि उपस्थिति थियो ।

