काठमाडौं,९ पुष : काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जीत हात पारेको छ ।
सोमबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेसले गण्डकी प्रदेशलाई २७ रनले हराउँदै प्रतियोगितामा पहिलो जीत हात पारेको हो ।मधेसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभर ४ बलमा ८५ रनमा अल आउट भएपछि खेल मधेसले जितेको हो ।गण्डकीका लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । बलिङतर्फ मधेसकी पूजा महतोले ३ विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । मधेसका लागि पूजा महतोले ३८ र सरस्वती कुमारीले अविजित २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी सुमन खतिवडाले ३ विकेट लिइन् ।
योसँगै मधेसले लगातार हारको शृंखला तोडेको छ । यसअघिका ३ खेलमै पराजित भएको मधेस यो जितसँगै ४ खेलमा २ अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ । गण्डकी ४ खेलमा २ अंकसहित छैटौँ स्थानमा छ ।

