Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

आज विजयादशमी, नवदुर्गाकाे प्रसाद स्वरुप टीका र जमरा लगाइँदै

वीरगन्ज,७कार्तिक: आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ । दुर्गा बिसर्जन गर्नका लागि समितिले बिहान १० बजेट ३७ मिनेटको साइत तोकिदिएको छ । कसैलाई टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने समितिले जनाएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

 

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

Related posts

सीए पढ्न अब काठमाडौं जानु पर्दैन, वीरगन्जमै खुल्यो ‘गुरुकुल सीए कलेज’

MadhesKhabar

लागुऔषधविरुद्धको अभियानमा प्रहरीसंगै लाग्ने पर्साका जनप्रतिधिनीहरुको प्रतिबद्धता

MadhesKhabar

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

Leave a Comment