बारा,१३असाेज: एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरेर बनाइएको पक्की घरमा ढलानकै छानो छ । एक समान र उही आकारका घरले बस्ती निकै व्यवस्थित देखिएको छ । ढलानकै सिकुवा, सफा आँगन, व्यवस्थित सौचालय र बालबालिका खेल्न मिल्ने फराकिलो ठाउँको प्रबन्ध मिलाइएको छ ।
प्रभू शमसेर जबरा तथा राजी राणा परोपकार निजी जुठीले बाराको जितपुर सिमरा उपमहानगरपालिका –६ नगौलमा एकीकृत बस्ती निर्माण गरिदिएपछि मुसहर समुदायका २० परिवारले आश्रय पाएका छन् । कूल ७ कठ्ठा १२ धुर क्षेत्रफलमा ३ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएका २० वटा तीन कोठे पक्की घर शुक्रबार गुठीकी अध्यक्ष राणाले वडा कार्यालयको रेखदेख तथा संरक्षणमा रहनेगरी सम्बन्धित परिवारलाई हस्तान्तरण गरेकी हुन् ।
‘नयाँ घरमा सरेपछि अब बाढीले उठिबास लगाउने हो कि भन्ने पीर हटेको छ । ‘नयाँ घरमा बस्न पाउने भएपछि त चैनको निन्द्रा पर्नेछ,’स्थानीय छोटेलाल माझी मुसहरले भने,’हाम्रा छोराछोरी धुलोहिलोमा डुब्लान भन्ने पीर हटेको छ । बाढीले ढुबाउलाकी भन्ने तनाव पनि छैन ।’
एक परिवारका लागि दुई सुत्ने कोठा, एक भान्सा घर र शौचालयसहितको व्यवस्थित घर आफूहरूले प्राप्त गरेको छोटेलालले सुनाए । गुठीले एकीकृत बस्तीकाे मध्य भागमा बाटो, प्रत्येक घरको आँगनमा खानेपानीको लागि ट्युबेलपनि जडान गरिदिएको छ ।
वर्षौदेखि ऐलानी जग्गामा कच्ची घरमा बस्दै आएका रन्जित माझी मुसहरले नयाँ पक्की घरमा बस्न पाएपछि खुसी व्यक्त गरे।
यसैगरी पूजा महत्तो दसैंको मुखमा नयाँ घर पाउँदा दङ्ग छिन् । ‘पहिले सानो घर थियो । चर्पीको व्यवस्था थिएन,पानी लिन टाढा जानुपथ्र्यो । अहिले आँगनमै ट्युबल छ । पक्की चर्पी छ । हामीलाई निकै राहत मिलेको छ,’उनले भनिन्।
नयाँ घरमा व्यवस्थापन मिलाउनका लागि गुठीले प्रत्येक मुसहर परिवारलाई नगद १० हजार रुपैयाँसमेत प्रदान गरेको छ ।
छुट्टाछुटै घरमा बस्दै आएका एउटै समुदायका नागरिक अब व्यवस्थित बस्तीमा बस्न पाउने अवस्था निर्माण भएको जीतपुरसिमराका ६ का वडाध्यक्ष कैमुदिन अंसारीले बताए।
विपन्न परिवारका लागि घर निर्माण गरिदिएर गुठीले समुदायमै उदाहरणीय काम गरेको अंसारीले बताएका छन्। उनका अनुसार गुठीले घर निर्माण गरिदिने चाहना राखेपछि वडा कार्यालय समेतको सक्रियतामा अति विपन्न परिवार पहिचान गरेको थियो।
अति विपन्न परिवार पहिचान भएपछि गुठीले घर निर्माणको प्रक्रिया अघि बढाएर करिब पाँच महिनामै घर हस्तान्तरण गरेको हो। साभार:अन्नपूर्ण पाेष्टबाट

