वीरगन्ज ,२९भदाैं: पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपको फाइनलमा प्रवेश गरेको छ।
सुपर फोर अन्तर्गत बिहीबारराति भएकाे आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइनलमा पुगेको हो। पाकिस्तानको एसिया कप यात्रा भने समाप्त भएको छ।
कोलम्बोको आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा वर्षाका कारण खेल ४२ ओभरमा झारिएको थियो।
पाकिस्तानले दिएको २५३ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएकाे श्रीलंकाले अन्तिम ओभरको अन्तिम दुई बलमा दुई चौका प्रहार गर्दै सनसनीपूर्ण ढंगले खेल जितेको हाे।
अन्तिम दुई बलमा श्रीलंकालाई जितका लागि ६ रन आवश्यक थियो। स्ट्राइकमा थिए चारिथ असलंका र प्रमोद मदुशन ।पाकिस्तानबाट अन्तिम ओभरमा बलिङ गर्न कप्तान बाबर आजमले जमन खानलाई पठाए।
४१ औं ओभरको समाप्तिमा श्रीलंकाले २४४ रन बनाएको थियो। अन्तिम ओभरको ६ बलमा उसलाई जितका लागि ८ रन आवश्यक थियो।
८ रन आवश्यक रहेको ओभरको पहिलो बलमा प्रमोदले एक रन प्रहार गर्दै असलंकालाई स्ट्राइक दिए। दोस्रो बल डट भयो। तेस्रो बलमा एक रन हान्दै असलंकाले प्रमोदलाई स्ट्राइक दिए।
अन्तिम तीन बल मात्रै बाँकी रहँदा सेट नभइसकेका प्रमोद स्ट्राइकमा रहेकाले श्रीलंका उच्च दबाबमा देखिन्थ्यो तर त्यहाँ अशलंकाले दिमाग घुमाए। जसको परिणाम सकारात्मक पनि आयो।
चौथो बलमा जमनको बल प्रमोदको ब्याटमा छुनेबित्तिकै अशलंका रन लिन दौडिए। बल पिचमै रहेकाले प्रमोदले रन लिन भ्याएनन् र अशलंकालाई स्ट्राइक दिएर आउट भए।
स्ट्राइकमा आएका अशलंकाले अन्तिम दुई बलमा दुई चौका प्रहार गर्दै श्रीलंकालाई फाइनल पुर्याउन सफल भए।
खेलमा श्रीलंकाका कुशल मेन्डिसले ९१ रन बनाए। ८७ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए। अशलंकाले नट आउट ४९ रन, सदिरा समरविकर्मले ४८रन, पथुम निसंकाले २९ रन र कुशल परेराले १७ रन बनाएका थिए।
बलिङमा पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन अफ्रिदीले २ र शादब खानले १ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा८ विकेट गुमाएर २५२ रन बनाएको थियो।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८६ रन, अबदुल्लाह शाफिकले ५२ रन, बाबर आजमले २९ रन र इफ्तिखर अहमदले ४७ रन जोडे।
बलिङमा श्रीलंकाका मथिशा पथिरनाले ३, प्रमोद मदुशनले २, महिश थिकशाना र दुनिथ वेल्लालेजले एक/एक विकेट लिए।
जितसँगै श्रीलंका एसिया कपको फाइलन पुगेको छ। आइतबार हुने फाइनलमा श्रीलंकाले भारतसँग उपाधिका लागि खेल्नेछ।

