Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

कर नतिर्ने वीरगन्जका १९ करदाताको सम्पति र बैंक खाता रोक्का

वीरगन्ज ,४भदाैं: आन्तरिक राजस्व कार्यालय वीरगन्जले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने वीरगन्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल, सम्राट ढुवानी सेवाकाे बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए ।

यस्तै वीरगन्जकै पटेल किराना स्टोर्स, बूदर टेक्सटाइल इण्डट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स,ज्योति मनि चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए । प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आर्थिक वर्ष २०७९/८० मा १४ करोड ३९ लाख बक्यौता सङ्कलन गरिएको छ ।

पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ”, प्रमुख कर अधिकृत तिवारीले भने, त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।” सबै रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएको उनको भनाइ थियो ।

नियमित बजार अनुगमन थालेपछि आव २०७९/८० मा करदातासमेत बढेको आन्तरिक राजस्व कार्यालय वीरगन्जले जनाएको छ । गत आव २०७९/८० मा पर्सामा व्यावसायिकतर्फको करदाता दुई हजार सात सय ५० र व्यक्तिगत १० हजार दुई सय २५ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत तिवारीले बताए ।

योसँगै पर्सामा व्यावसायिक ४७ हजार आठ सय ८० र व्यक्तिगत ६६ हजार पाँच सय ५५ गरी एक लाख १५ हजार ४३५ करदाताको सङ्ख्या पुगेको जनाएको छ । यसैबीच आन्तरिक राजस्व कार्यालय वीरगन्जले गत आर्थिक वर्ष २०७९/८० मा सात अर्ब १४ करोड राजस्व सङ्कलन गरेको छ ।कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा रु आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो ।

बढ्दो आर्थिक तरलता, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुनु, तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायतका कारणले राजस्व सङ्कलन घटेको प्रमुख कर अधिकृत तिवारीको भनाइ छ ।रासस

Related posts

अनर्गल प्रचार गरेर भ्रम फैलाउने दुष्प्रयास : वीरगन्ज महानगर

MadhesKhabar

प्रेस युनियन पर्साका नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न

MadhesKhabar

वीरगन्ज भन्सारको सुक्खा बन्दरगाह परिसरमा १८५ मालवाहक कन्टेनर ६ वर्षदेखि अलपत्र

MadhesKhabar

Leave a Comment