
वीरगन्ज, ३ साउन : नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले अहिले कांग्रेसलाई बदनाम गर्न नियोजित रुपमै केहि शक्तिहरु लागेको बताएका छन् ।
बुधबार वीरगन्जस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित जिल्लाका अगुवा नेता कार्यकर्ताहरुको भेलामा बोल्दै कांग्रेस सभापति क्षेत्रीले कांग्रेसलाई बदनाम गर्न विपक्षीहरुले अनेकन हथकण्डा अपनाइरहेको बताए । प्रदेश सभा सदस्य समेत रहेका क्षेत्रीले देशमा भएका विभिन्न भ्रष्टचार प्रकरणमा निर्दोष कांग्रेस नेताहरुलाई फसाँएर कांग्रेस पार्टीलाई नै बदनाम गर्ने षडयन्त्र भइरहेको बताए ।
भ्रष्टचारी र अपराधीलाई कांग्रेसले कहिल्यैपनि संरक्षण नगरेको विगतको इतिहास स्मरण गराउँदै क्षेत्रीले भने,‘ तर अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नै नभएका हाम्रा नेता बालकृष्ण खाँडलाई फसाँउने षडयन्त्र भइरहेको छ , आरजु देउवाको नाम मुछ्ने खेल भइरहेको छ , छानी छानी कांग्रेसी नेतालाई अनाहकमा बदनाम गराउने फोहोरी खेल भइरहेको छ ।
कांग्रेसका नेतालाई बदनाम गरिए कांग्रेस पार्टी बदनाम हुने र त्यसको अनुचित फाइदा आफु र आफनो पार्टीलाई हुने योजनाका साथ विपक्षीहरु लागेको क्षेत्रीले बताए ।
कांग्रेस जिल्ला सभापति क्षेत्रीले कांग्रेस पार्टी र नेताका बारेमा सामाजिक सञ्जाल वा सार्वजनिक स्थानमा गलत टिका टिप्पणी नगर्न नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिए । उनले भने,‘ यदि गल्ती कमजोरी भएको छ भने पार्टीको बैठक वा भेलामा राख्नु होला तर सोसल मिडिया वा चोकचौराहामा आफनो पार्टी र आफना नेता बारे गलत टिकाटिप्पणी बिल्कुलै नगर्नुहोला ।
पार्टीको अनुशासनमा बस्न आग्रह गर्दै उनले पार्टी र पार्टीका नेता बारे सामाजिक सञ्जाल वा सार्वजनिक स्थानमा गलत टिकाटिप्पणी वा गाली गलौज गरेको पाइए पार्टीलाई सह्य नहुने चेतावनीपनि दिए ।

