
वीरगन्ज, १३ असार : वीरगन्ज महानगरपालिकाको आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिले ज्येष्ठ पत्रकार पेन्सन कोष कार्यविधि तयार गर्न कार्यदल गठन गरेको छ ।
आम सञ्चार ऐन २०७८ तथा बीरगन्ज महानगरपालिकाको १२ औं नगर सभाले ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गर्ने नीति अवलम्बिन गरेसँगै कार्यविधि तयारका लागि समितिका सदस्य रामनारायण कुर्मी, नवराज फुयांल, आविद हुसेन, माधुरी महतो र कानुन अधिकृत ईश्वर बराल रहने गरी ५ सदस्यीय कार्यदल गठन गरेको समितिका संयोजक धुव अधिकारीले जानकारी दिए ।
त्यसैगरी समितिको वैठकले वीरगन्ज महानगरपालिकाको टेण्डर, विज्ञापन लगायत अन्य सुचना राष्ट्रिय तथा स्थानिय माध्यमहरुबाट प्रकाशन तथा प्रशारण गराउन दर रेटमा विविधता पाईएको हुँदा त्यसलाई एकरुपतामा ल्याउन दर रेट निर्धारण कार्यदल समेत गठन गरेको छ ।
समितिका मनोज पटेल, मुस्कान श्रेष्ठ र अमित अग्रवाल सदस्य रहेको कार्यदलले एक साता भित्र प्रतिवेदन पेश गर्ने निर्णय वैठकले गरेको संयोजक अधिकारीले बताए । त्यसैगरी वैठकले लोक कल्याणकारी विज्ञापन वापतको अन्तिम किस्ताको विल लगायत आवश्यक कागजात ५ दिन भित्र सुचना शाखामा पेश गर्न वीरगंजका सम्पूर्ण आम सञ्चार माध्यमलाई आग्रह गरेको छ ।
आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समिति वीरगंज महानगरपालिकाका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न वैठकमा मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वरिष्ठ पत्रकार एवं समितिका सदस्य रामनारायण कुर्मी, समितिका सदस्यहरु अमित अग्रवाल, आविद हुसेन, मनोज पटेल, मुस्कान श्रेष्ठ, माधुरी महतो, वीरगन्ज महानगरपालिकाको प्रशासन प्रमुख राज ताम्राकार, सूचना तथा प्रशारण शाखा प्रमुख शम्भु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

