
बारा , १७ जेष्ठ : बाराको पचरौता नगरपालिकाका मेयर जलान्धर सिंहले एमबीबीएस अध्ययनरत दुईजना विद्यार्थीलाई जनही १० लाख रुपैयाँ प्रदान गरेका छन्। जनप्रतिनिधिको रुपमा निर्वाचित भएको एक वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा मंगलबार मेयर सिंहले छात्रवृत्तिस्वरुप उक्त रकम प्रदान गरेका हुन् ।
नगरपालिकाको कार्यलयमा आयोजित कार्यक्रममा मेयर सिंहले पचरौता ५ की निशा चौरसिया र वडा नंबर १ का अंशु राजलाई जनही १० लाखको चेक हस्तान्तरण गरेका हुन् । निशा र अंशु दुबै एमबीबीएस अध्ययनरत विद्यार्थी हुन् ।
मेयर सिंहले यसअघि रेडियोग्राफर पढ्दै गरेकी प्रसंशाकुमारी यादवलाईपनि अध्ययन छात्रवृत्तिबापत पाँच लाख प्रदान गरेका थिए । अध्ययनका लागि नगरपालिकाबाट सहयोग प्राप्त गरेकी यादव समेत कार्यक्रममा सहभागी भएकी थिइन् ।
छात्रवृत्ति पाएका छात्रछात्राले निर्वाचनको समयमा मेयर सिंहले गरेका प्रतिबद्धता पूरा गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।मेयर सिंहले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छात्रछात्राहरुको भनाइ थियो ।
कार्यक्रममा मेउर सिंहले राष्ट्रिय स्तरका प्रतियोगिता खेल्ने क्रिकेट खेलाडीलाई समेत सहयोग हस्तान्तरण गरेका छन् । उनले क्रिकेट प्रशिक्षणका लागि सिंहले भुलन सहनीलाई २ लाख २५ हजार, सुशान्त सिंहलाई एक लाख ५० हजार, सहजाद हुसेन अंसारीलाई १ लाख,अभयकुमार सिंहलाई ६५ हजार र समीर अंसारीलाई ६० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी मेयर सिंहले नगर क्षेत्रभित्र रहेका विभिन्न विधालयलाई १ सय २६ थान पंखा हस्तान्तरण गरेका छन् ।
छात्रवृत्ती र पंखा हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले पचरौताको विकासले गति लिँदै गरेको बताए । आफू निर्वाचित भएर आएपछि शिक्षा र स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता दिएर अघि बढेको बताउँदै सिंहले नगरबासीले आगामी दिनमा नगरबासीले अनुभूति हुनेगरी काम हुने बताएका छन् ।
पचरौतामा एक सय शैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढिरहेको बताउँदै सिंहले हालै सञ्चालनमा आएको प्रयोगशालामा आगामी वर्षदेखि ल्याब परिक्षणलाई निशुल्क बनाइने बताए ।
निर्वाचित भएर आएको लामो समय मुद्दा मामिलामा अल्झाइएको बताउँदै सिंहले पचरौता र नगरबासीको पक्षमा काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताए । कार्यक्रममा सिंहले एक वर्षमा नगरले गरेका प्रगति विवरण प्रस्तुतपनि गरेका थिए ।
कार्यक्रममा उपमेयर नसिमा खातुन,प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्र,वडाध्यक्ष लक्ष्मी यादव, शिक्षा शाखा सहसंयोजक मुकेशकुमार सिंह, अन्य वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।साभार : अन्नपूर्णपोष्ट

