वीरगन्ज ,१०जेष्ठ : जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा फाँटका एक जना वरिष्ठ सई (प्रहरी नायब निरीक्षक) सहित तीन जना प्रहरी निलम्बनमा परेका छन् ।
चेक अनादर मुद्दामा घुस मागेको पाइएपछि मुद्दा फाँटका वरिष्ठ प्रहरी नायब निरीक्षक जयमोद ठाकुर, प्रहरी नायब निरीक्षक वसन्त भट्टराई र प्रहरी जवान महेश महतोलाई निलम्बन गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार चेक अनादर मुद्दामा अदालतबाट जारी भइसकेको पक्राउ पुर्जी सम्बन्धित इलाका प्रहरी कार्यालयमा पठाउन मुद्दा फाँटका प्रहरीले निवेदकसँग १ लाख रुपैयाँ घुस मागेका थिए । पर्साको पोखरिया नगरपालिका ७ निवासी निवेदकले मुद्दा फाँटका प्रहरीले घुस माग गरेको जानकारी प्रहरी उपरीक्षक शाहलाई दिएका थिए ।
‘गत आइतबार एसपीकै कार्यकक्षमा निवेदक बसिरहेको समयमा मुद्दा फाँटका प्रहरीले मोबाइलमा फोन गरि पैसा लिएर प्रहरी कार्यालय परिसरभित्रै रहेको रुखनिर आउन भनेका थिए,’ नाम उल्लेख नगर्ने सर्तमा ती स्रोत भन्छन्, ‘प्रहरी जवानले घुसको पैसा लिएर आउन भनिरहँदा एसपी साहेब आफ्नो कार्यकक्षको झ्यालबाट ती प्रहरीलाई हेरिरहेका थिए ।’
रुखनिर उभिरहेका प्रहरी जवान महेश महतोलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको थियो । अनुसन्धानको क्रममा मुद्दा फाँटका वरिष्ठ सई ठाकुर र सई भट्टराईको समेत संलग्नता देखिएपछि तीनै जनालाई बुधबार निलम्बन गरिएको शाहले बताए ।साभार:कान्तिपुर

