
बारा ,७बैशाख : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताएका छन्।
बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिलाए। उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ। निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं। म तपाईँहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ।’
उनले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसका लागि गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गर्ने सरकारको योजना रहेको बताए। विद्युतीय सिँचाइ प्रणालीमार्फत् सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिन प्रधानमन्त्रीको भनाइ छ।
‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौं, प्रधानमन्त्रीले भने, ‘नागरिकता समस्या मधेसको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीनरूपमा समाधान गरिनेछ।’
प्रधानमन्त्रीले यसअघि अर्थतन्त्र संकटमा भए पनि अहिले अर्थतन्त्रमा सुधार देखिएको बताए। ‘पर्यटक आउने क्रम बढेको छ। विदेशी मुद्राको सञ्चिति बढेको छ। विदेशमा रहेका लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौं। समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो,’ उनले भने।
प्रधानमन्त्री दाहालले उपेन्द्र यादव देशको नेता भएको भन्दै संसद्का लागि आवश्यक भएको बताए। ‘उपेन्द्र यादवले जित्नु भनेको मधेसले जित्नु हो। मधेसले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो। समग्र परिवर्तनका मुद्दाले जित्नु हो,’ उनले भने।
संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको उनले स्पष्ट पारे। उनले उपेन्द्र यादवलाई जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पार्न आग्रह गरे।

