
काठमाडौं, ६ फागुन : आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले लगातार तेश्रो जित हात पारेको छ । तेश्रो खेलमा नेपालले नामिबियालाई पराजित गर्दै लगातार तेश्रो जित हत्याएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गरेको हो ।योसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको हो ।
शनिबारको खेलमा नेपाललाई जिताउन ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए । शनिबारको खेलमा नेपालका आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि गरेको १३९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो ।
पहिलो इनिङमा नामिबियाले ६ विकेट गुमाएर दुई सय ७४ रनको योगफल बनाएको थियो। भ्रमणकारी टिमका लागि रुबेन ट्रम्पेल्म्यानले सर्वाधिक तीन विकेट लिँदा बर्नार्ड स्कोल्जले दुई तथा पिकी या फ्रान्स र टाङ्गेनी लुङ्गामेनीले एक–एक विकेट लिए।
पहिलो इनिङमा नामिबियाका लागि विकेटकिपर ब्याटर जेन ग्रीनले ७५ रनको अविजित अर्धशतकीय इनिङ खेलेका थिए। त्यसबोहक पिकी या फ्रान्स ४९ रनमा आउट हुँदा ओपनर लो हान्द्रे लौरेन्सले ४१ रन जोडेका थिए। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर सर्वाधिक तीन विकेट लिँदा करण केसीले एक विकेट लिएका थिए।

