Madhes Khabar
राष्ट्रिय

सर्वोच्चलाई गृहमन्त्री लामिछानेको जवाफ- मेरो नेपाली नागरिकता आफैं भयो पुन: कायम

काठमाडाैं,०२माघ:उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेपाली नागरिकता नत्यागेको भन्दै पुन: प्राप्ति गर्नु नपर्ने, आफैं कायम हुने बताएका छन्।

सर्वोच्च अदालतले मागेको लिखित जवाफ पेश गर्दै लामिछानेले यस्तो जवाफ दिएका हुन्। उनीविरूद्ध नेपाली नागरिकता पुन: कायम गर्ने प्रक्रिया पूरा नगरेर निष्क्रिय नागरिकताको प्रमाणपत्र पेश गरी पार्टी दर्ता गरेको र सांसद बनेको भन्दै योग्यताको प्रश्न उठाएर सर्वोच्चमा रिट परेको थियो। उक्त रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो।

इजलासले उनको नागरिकतासम्बन्धी विवादमा जवाफ मागेको थियो।

लामिछानेले आफ्नो जवाफमा नागरिकता नियमावलीको नियम ११ को एउटा वाक्यांशको व्याख्या गरेका छन्।

उक्त नियममा लेखिएको छ- ऐनले नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुन नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ।

आफूले भने यसरी निवेदन दिनु नपर्ने लामिछानेको तर्क हो।

उक्त नियमावलीको व्यवस्था नेपालको नागरिकता त्यागी विदेश गएको व्यक्तिका लागि भएको उनले बताएका छन्।

आफूले त नेपाली नागरिकता नत्यागी अमेरिका गएकाले पुन: नागरिकता कायम गर्न निवेदन दिनु नपर्ने आफैं कायम हुने लामिछानेको जिकिर छ।

‘म लिखित जवाफवालाले नेपाली नागरिकता त्यागी विदेश अमेरिका गएको अवस्था नहुँदा नियम ११ को कार्यविधिअनुसार नागरिकता त्यागी विदेश गएको र पुन: कायम गरी पाउँ भनी हुँदै नभएका झुठा विवरण दिई निवेदन गर्न सक्ने अवस्था आउँदैन।’

नागरिकता नियमावलीमा पुन: नेपाली नागरिकता लिन कस्तो कार्यविधि हुनुपर्छ भन्ने प्रष्ट नभएको पनि उनले उल्लेख गरेका छन्।

लामिछानेले सन् २०१४ अर्थात् विक्रम संवत २०७० सालमा अमेरिकी नागरिकता लिएको र २०१८ अर्थात् २०७५ मा त्यागेको जानकारी अदालतलाई दिएका छन्।

२०७५ जेठको ५ गते अमेरिकी नागरिकता त्याग्न नेपालस्थित अमेरिकी दूतावासमा आफूले निवेदन दिएको र दूतावासले एक महिनापछि परित्यागको स्वीकृतिपत्र दिएको उनको लिखित जवाफमा उल्लेख छ। सोही सालको असार १४ गते अमेरिकन नागरिकता परित्यागको स्वीकृति पत्र पाएको उनले बताएका छन्।

उनले विदेशी नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएपछि त्यस्तो निस्सा दर्ता भएको दिनदेखि नेपाली नागरिकता पुन: कायम भएको मानिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै यो प्रकृया आफूले पूरा गरेको दाबी पनि गरेका छन्।

आफूले अमेरिकी नागरिकता परित्याग गर्न निवेदन दिएपछि गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा आफ्नो रेकर्ड अध्यावधिक गर्न निवेदन दिएको पनि लामिछानेको निवेदनमा उल्लेख छ।

‘मैले अमेरिकाको नागरिकता त्यागेको निस्सा राखी नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागलाई आफ्नो रेकर्ड अध्यावधिक गर्न भन्दै २०७५ असार ६ गते निवेदन दिएको, विभागले पनि मैले अमेरिकी नागरिकता त्याग गरेको निस्सासहितको कागजात गृह मन्त्रालय पठाएको र गृहले असार ७ गते प्रेस काउन्सिल र सूचना तथा सञ्चार मन्त्रालयलाई पठाएको तथ्यगत अवस्था छ,’ लामिछानेले भनेका छन्।

आफूले विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नभएको र विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुन: कायम भएको जिकिर लामिछानेको छ।

विद्यमान ऐन कानुनले विदेशी नागरिकता त्यागेपछि नयाँ नेपाली नागरिकता जारी हुने नभई पुरानै नागरिकता पुन: कायम हुने भनेको पनि लामिछानेको भनाइ छ।

त्यसैले पुन: नागरिकता नलिएकाले प्रतिनिधिसभा सदस्यमा आफू अयोग्य हुने भन्दै परेको रिट खारेजभागी भएको उनको तर्क छ।

आफूलाई नेपाली नागरिक होइन भने त्यसको प्रमाण निवेदकले पुर्‍याउनुपर्ने लामिछानेको तर्क छ।

‘म नेपाली नागरिक होइन भनी प्रश्न उठाउने निवेदकले म विदेशको नागरिक भएको प्रमाण सम्मानित अदालतमा पेश गर्नुपर्ने छ। अन्यथा मजस्तो नागरिकको निजी जीवन म र मेरो देशको सम्बन्धलाई जोड्ने मेरो नागरिकताको बारेमा झूटो आरोप लगाउन मिल्ने होइन,’ उनले भनेका छन्।

आफू प्रतिनिधिसभा सदस्य हुन योग्य रहेको भन्दै आफूविरूद्ध परेका रिट खारेज हुनुपर्ने लामिछानेले बताएका छन्।

‘मेरो हकमा यसै लिखित जवाफको माथिको विभिन्न प्रकरणहरूमा मेरो साविकको नेपाली नागरिकता पुन:कायम भएको भनी सोको कानूनी आधार र तथ्यगत प्रमाणको बारेमा उल्लेख गरिसकेको हुँदा सोही आधार र कारणबाट प्रतिनिधिसभा सदस्यको लागि योग्य रहेको र उल्लेखित कानूनबाट म अयोग्य नरहेको व्यहोरा अनुरोध गर्छु।’ साभार:सेताेपाटी

Related posts

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दुई वर्ष जेल सजाय

MadhesKhabar

सर्वोच्चमा एआईजी विश्वराज पोखरेलको रिट दर्ता, बुधवारलाई पेसी तोकियो

MadhesKhabar

आज संविधान दिवस : देशभर सार्वजनिक विदा

MadhesKhabar

Leave a Comment