Madhes Khabar
खेलकुद

पाकिस्तान टी–२० विश्वकप क्रिकेटको फाइनलमा

वीरगन्ज, २३ कार्तिक : पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी–२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

उपाधिका लागि पाकिस्तानले दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डको विजेताबीच प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल विहीबार हुनेछ ।

सिड्नीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

ओपनरद्वय मोहम्मद रिजवान र बाबर अजामले अर्धशतक प्रहार गरे । यो जोडीले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

रिजावनले ४३ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५७ रन बनाए । कप्तान बाबरले ४२ बलमा ५३ रन बनाउने क्रममा ७ चौका प्रहार गरे । मोहम्मद ह्यारिसले २६ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३० रन बनाए । शान मसुद ३ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए । मिचेल सान्टनरले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ४ विकेट गुमाएर १५२ रन बनाएको थियो ।

Related posts

एपिएफलाई हराउँदै पुलिस सिमरा गाेल्डकपकाे फाइनलमा

MadhesKhabar

कोपा अमेरिका फुटबल : उरुग्वेसंग ब्राजिल पराजित

MadhesKhabar

वीरगन्ज गोल्डकपको पहिलो सेमिफाइनलमा आज वीरगन्ज र पुलिस भिड्दै

MadhesKhabar

Leave a Comment