Madhes Khabar
अर्थतन्‍त्र

एक महिनामा १ अर्ब ७२ करोड रुपैयाँको विधुत भारत निर्यात

मधेसखबर
वीरगन्ज,१७असार : नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १८ गते देखि आईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट विद्युत् दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिक रुपमा ३ सय ६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३ सय ६४ मेगावाट विद्युत् आईएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ ।

एक महिना (जुन) मा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरिएको छ । प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरु कटाएर खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गएको वर्षबाट सुरु गरिएको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको बताए। उनले भने ,‘ विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको अहिलेको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौं’, यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको सोधानान्तर बचतमा समेत योगदान पुग्ने छ ।’

उनले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आउँदो वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत् निर्यातको प्रक्षेपण गरिएको बताए । भारतसँगको विद्युत् व्यापारले नेपालको जलविद्युतको विकासमा ठूलो सहयोग पुग्ने बताए । पहिलो प्राथमिकता देशभित्रै विद्युत् खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनु पर्ने देखिएको घिसिङले बताए ।

Related posts

फेरि बढ्यो अण्डाको मूल्य

MadhesKhabar

तस्करी गरेर वीरगन्जमा ल्याइएको ५ हजार किलाे प्याज प्रहरीद्वारा बरामद

MadhesKhabar

विश्व बैंकको सहयोगमा वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहको पूर्वाधार विस्तार हुँदै

MadhesKhabar

Leave a Comment