
मधेसखबर
वीरगन्ज,३०जेठ : वीरगन्जका हिन्दु युवाहरुको एक समुहले धार्मिक सहिष्णुता खल्बल्याउने गतिविधी रोक्न स्थानीय प्रशासनसंग माग गरेका छन् ।
भाजपाका प्रवक्ता नुपुर शर्मा र नेता नविन जिन्दलले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदका बारेमा नकारात्मक टिप्पणी गरेको विषयलाइ लिएर वीरगन्जमा पनि केहि दिन यता मुस्लिम र हिन्दुवादी संघसंस्थाले समर्थन र विरोधमा प्रदर्शन गर्दै आएका छन् ।
त्यसैलाइ लक्षित गरेर विश्व हिन्दू परिषद् नेपालले धार्मिक सहिष्णुता खल्बल्याउन प्रकारको प्रयास रोक्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ ज्ञापनपत्र बुझाउदै परिषदका युवाहरुले भारतीय नेताहरुको अभिव्यक्तीलाइ लिएर वीरगन्ज सहित नेपालका विभिन्न स्थानमा इस्लाम धर्मवालम्बीहरुले गर्दै आएको विरोध प्रदर्शनले धार्मिक सहिष्णुता खल्बलिन सक्ने भएकाले त्यस्ता गतिविधी रोक्न माथग गरेका हुन् । धर्मको आडमा केही अराजक व्यक्तिहरुले नेपालको धार्मिक सहिष्णुता बिगार्न खोजेको भन्दै परिषदका युवाहरुले प्रदर्शनबाट नेपाल र भारतको सम्बन्धमा समेत असर परिरहेको ज्ञापन पत्र बुझाउन गएको टोलीमा सहभागी युवा ओमप्रकाश गुप्ताले बताए ।
इस्लाम धर्मावलम्बीहरुले आगामी शुक्रबार फेरि वीरगञ्जमा त्यस्तै प्रकारको विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको जानकारी आफुहरुले पाएको भन्दै गुप्ताले त्यस्ता गतिविधि रोक्न ज्ञापन पत्र मार्फत स्थानीय प्रशासनसँग माग गरिएको बताए ।
ज्ञापन पत्र बुझाएपछि विश्व हिन्दु परिषद्का सदस्यहरुले प्रमुख जिल्ला अधिकारी ढकालसँग छलफल पनि गरेको गुप्ताले जानकारी दिए ।

