Madhes Khabar
अर्थतन्‍त्र

सरकारले वीरगन्ज चिनी मिल चलाउछ,निजगढ विमानस्थल पनि बनाउछ – अर्थमन्त्री शर्मा

माधुरी महत्तो
वीरगन्ज,२१जेठ :संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्माले उद्योगी , व्यपारी , किसान र मजदुरको हितमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् ।
शनिबार वीरगन्ज उद्योग वाणिज्य संघको ४६ औं साधरणसभाको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
नीजी क्षेत्रलाइ दिएको सुझावहरुलाइ नै समेटेर देश विकास र समृद्धिको नीतिमा नयाँ बजेट ल्याइएको उनले बताए ।
आन्तरिक उत्पादन वृद्धिका माध्यमबाट दिगो अर्थतन्त्र निर्माण गर्ने उदेश्यले उद्योगलाइ विद्युत महशुलममा छुट दिइएको , स्वदेशी उद्योगको संरक्षण गर्न निर्यातमा ८ प्रतिशत सम्म प्रोत्साहन रकम दिइएको , तयारी र कच्चा बस्तुको आयातमा लाग्दै आएको भन्सार दरमा एक तहको अन्तर कायम गरिएको लगायतका बिषयबस्तु नयाँ बजेटमा समेटेर देशभरका उद्योगी व्यवसायीको माग सम्बोधन गरिएको उनले बताए ।
उनले किसानलाइ ध्यानमा राखेर किसान पेन्सनको व्यवस्था गरिएको पनि बताए । अर्थमन्त्री शर्माले वीरगन्ज चिनी कारखाना ,प्रस्तावित निजगढ अन्र्तराष्ट्रिय विमानस्थल , तराइ काठमाण्डौ द्रूत मार्ग लगायतका योजनालाइ पनि नयाँ बजेटमा प्राथमिकतामा राखेर प्रयाप्त रकम विनियोजन गरिएको बताए ।
सर्वोच्च अदालतले जे सुकै आदेश गरेपनि निजगढ विमानस्थल बनेरै छाड्ने प्रतिबद्धता पनि उनले जनाए । मन्त्री शर्माले भने,‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ ,यो जनार्दन शर्माको प्रतिबद्धता भयो, त्यसैले सरकारले नयाँ बजेटमा निजगढ बिमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’ उनले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको विकल्प मात्र नभइ मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ बिमानस्थल आवश्यक भएको तर्क पनि गरे ।
अर्थमन्त्री शर्माले दुइ दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखाना , कृषि औजार कारखाना सन्चालनका लागि आवश्यक प्रकृया अघि बढाउने पनि उनले बताए । बन्द कारखानाहरु सन्चालनकै लागि नयाँ बजेटमा रकम राखिएको र सरकारले ६÷७ महिना पहिले नै कर्मचारीको व्यवस्थापन पनि गर्न शुरु गरिसकेको जानकारी पनि उनले दिए ।
अर्थमन्त्री शर्माले भने ,‘वीरगन्ज चिनी कारखाना चलाउने भनेरै बजेटमा उल्लेखछ , यो कुनै मजाक गरेको होइन, विगत ६÷७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा बजेटमा कार्यक्रम राखिएको हो ।
वीरगन्ज चिनी कारखाना संचालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगन्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने उनले बताए ।
उद्योग बाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधु कुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराल लगायतको टोलीले शनिबार बिहान वीरगन्ज चिनी काराखानाको स्थलगत निरिक्षण पनि गरेका थिए । त्यसक्रममा काराखानामा कार्यरत कर्मचारीहरुले चिनी कारखाना संचालन योग्य अवस्थामा रहेको जानकारी गराएका थिए ।
उद्योग वाणिज्य संघकै कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जका उद्योगी व्यवसायीसंग सहकार्य गरेर वीरगन्ज चिनी कारखाना सन्चालन गर्न अर्थमन्त्री शर्मालाइ सुझाव दिएका थिए ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ताको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशका मन्त्री ओम प्रकाश शर्मा , पर्साका सांसद प्रदीप यादव, प्रदेशसभा सदस्य विभा यादव , वीरगन्जका मेयर राजेशमानन सिंह , जितपुर सिमरा उपमहानगरका मेयर राजन शर्मा पौडेल , संघका पुर्व अध्यक्षहरु गोपालल केडिया , गणेश लाठ , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतको पनि उपस्थिती थियो ।

Related posts

वीरगन्ज सुक्खा बन्दरगाह विस्तार याेजना आठ वर्षदेखि अधुरै

MadhesKhabar

वीरगन्जको लिंकरोड नजिकै पाँच करोडको लगानीमा खुल्यो ‘होटल विराट एण्ड प्लाजा’

MadhesKhabar

एक वर्षमा ११ करोड रुपैयाँको नेपाली अचार विदेशमा निर्यात

MadhesKhabar

Leave a Comment