
मधेसखबर
वीरगन्ज,२०जेठ : सर्लाहीको लालबन्दीबाट मात्रै एक महीनामा करीब १९ करोड रुपैयाको तरकारी निकासी भएको छ ।
लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिमार्फत सञ्चालित तरकारी बजारबाट एक महीनामा उक्त रकम बराबरको तरकारी निकासी भएको हो । वैशाख महीनामा मात्र १८ करोड ९९ लाख ४० हजार ६३० को तरकारी निकासी भएको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार वैशाखमा निकासी भएको तरकारीमध्ये सबैभन्दा धेरै गोलभेँडा निकासी भएको हो ।समितिका अनुसार उक्त महीनामा गोलभेँडा मात्रै ९ करोड ४७ लाख ४३ हजार रुपैयाको निकासी भएको हो । त्यसपछि बोडी एक करोड ९४ लाख ७९ हजार रुपैयाको निकासी भएको छ ।लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिकालगायत छिमेकी नगर र गाउँपालिकाबाट समितिद्वारा सञ्चालित तरकारी बजारमा तरकारी आउने गरेका छन् ।
गोलभेँडा, टमाटर, पर्वल, सिमी, भिण्डी, काउली, बन्दा, भान्टा, घिराँैला, झिम्नी, लौका, फर्सी, मुन्टा, करेला र मूलालगायत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको समितिले जाकारी दिएको छ ।
सर्लाहीको लालबन्दी, ईश्वरपुर, हरिवन नगरलगायत छिमेकी नगरपालिका र गाउँपालिकाका स्थानीयवासीले करीब एक हजार बिघाभन्दा बढी क्षेत्रमा उत्पादन गरेको तरकारी लालबन्दी आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको समितिका अध्यक्ष तोरणबहादुर मगरले बताए ।
जिल्लाका स्थानीय किसानले व्यावसायिकरुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, रामेछाप, सिन्धुली, सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमासमेत जाने गरेको अध्यक्ष मगरको भनाइ छ ।
तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिकरुपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारीखेती गर्दै आइरहेका जिल्लाका किसानले करीब एक हजार बिघाभन्दा बढी जमिनमा तरकारीखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहले बताए ।
विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँका साथै खाडी मुलुकमा मजदूरीका लागि जाने किसान अहिले तरकारीखेतीमा किसान रमाइरहेका छन् भने तरकारीखेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको छ । साभारः रासस

