Madhes Khabar
राजनीति

एकता वा गठबन्धनका लागि जसपा सामु लोसपाको दुइ सर्त

मधेसखबर
वीरगन्ज,२०जेठः
जनता समाजवादी पार्टी नेपाल (जसपा)र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच पार्टी एकता वा गठबन्धनका लागि अनौपचारिक छलफल भएको छ ।
अनौपचारिक छलफलकै क्रममा लोसपाले जसपा सामु दुई वटा सर्त राखेको छ । पहिलो सर्त जसपाले सरकार र पाँच दलीय गठबन्धन छाड्नु पर्ने रहेको लोसपाका एक नेताले बताए ।
लोसपाका कार्यकारिणी सदस्य समेत रहेका ती नेताका अनुसार , जसपा पाँच दलीय गठबन्धन र संघीय सरकारमा रहेकै अवस्थामा उसंग पार्टी एकता वा गठबन्धनको विषयमा कुनै औपचारिक कुरा हुन कठीन छ । एकता वा गठबन्धनका लागि पहिलो सर्तकै रुपमा जसपाले सरकार छाड्नुपर्ने प्रस्ताव गरिएको लोेसपाका ती नेताको भनाइ छ ।
यता जसपा सरकार छाड्ने पक्षमा छैन । लोसपासँग गठबन्धन वा एकताको कुरा अगाडि बढे मात्र गठबन्धन छाड्ने कि नछाड्ने कुरा हुने जसपाका नेताहरु बताउँछन् । लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले पनि लोसपा र जसपा मिल्नुपर्ने अवस्थाको सिर्जना स्थानीय चुनावले गरेको बताए । ‘एक अर्कासँग कुरा गर्नका लागि कुनै न कुनै बिन्दु समात्नुपर्ने हुन्छ, त्यो बेला लोसपा र जसपाले सर्त राख्न सक्ने अवस्था पनि आउन सक्छ,’ उनले भने, ‘जसपा अहिले प्रदेश र संघ दुवै सरकारमा छ, लोसपा दुवै ठाउँमा विपक्षमा छ । उता जसपा पाँच दलीय गठबन्धनमा पनि छ, यस अवस्थामा लोसपा र जसपाबीच गठबन्धनका लागि कुरा हुँदा यी विषय उठ्नसक्छ ।’
अहिले भने त्यो अवस्था आइनसकेको उनले बताए । उनका अनुसार अहिले एकता वा गठबन्धनका बारेमा कहीँ कतैबाट कुराको नै सुरुवात भएको छैन ।स्थानीय चुनावको नतिजा आएपछि जसपा र लोसपाले आपसमा गठबन्धन वा एकताका लागि मनसाय बनाएका छन् । स्थानीय तहको चुनावमा जसपाले ३० वटा स्थानीय तह र लोसपाले १६ वटा जितेको छ ।
दुवै दल मिलेको भए धेरै ठाउँमा जित्न सकिन्थ्यो भन्नेमा दुवै दलका नेता सहमत छन् । त्यही भएर नै अहिले जसपा र लोसपा बीच पुनः एकता वा गठबन्धनका लागि अनौपचारिक छलफल हुन थालेको छ । दुवै दलका पहिलो तथा दोस्रो तहका नेताहरुले आन्तरिक रुपमा छलफल थालनी गरे पनि त्यसलाई औपचारिकता दिन सकेका छैनन् । एक अर्कामाथिको अविश्वासकै कारण छलफलले औपचारिकता पाउन सकेको छैन ।
लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले एकता वा गठबन्धनका लागि लोसपामा कुनै छलफल नभएको बताए । ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले नै आफ्नो एक अन्तरवार्तामा एकता तथा गठबन्धनको कुरा बाहिर ल्याएपछि त्यसले चर्चा पाएको हो,’ उनले भने, ‘दुवै पार्टीमा त्यही विषयलाई लिएर चर्चा भए पनि कुनै ठाउँमा ठोस कुरा भएको छैन ।’
लोसपाको कार्यकारिणी समितिको बैठकमा यी विषयमा छलफल भयो भने एउटा निष्कर्ष निस्केला तर अहिलेसम्म कतै यसबारे आधिकारीक कुरा नभएको उनको भनाइ छ । जसपाको कार्यकारिणी सदस्य एवं मधेस प्रदेश प्रदेशसभा सदस्य मनिष सुमनले लोसपा र जसपाबीच गठबन्धन होइन, एकता नै हुनुपर्नेमा जोड दिए । विगतमा भएको एकता किन भङ्ग भयो भन्नेबारे समीक्षा गर्दै पुनः एकता नै गर्नुपर्ने उनको भनाइ छ ।उनले एकता गरी पाँच दलीय गठबनधनलाई नै निरन्तरता दिनुपर्ने बताए ।साभार :रातोपाटी

Related posts

पर्साका सांसद प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै, आजै साँझ ६ बजे शपथ लिने तयारी

MadhesKhabar

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रचण्डसँग प्रस्ताव

MadhesKhabar

पर्साका कांग्रेस प्रदेश सांसदद्धय पटेल र चौधरी बने प्रदेश सरकारमा मन्त्री

MadhesKhabar

Leave a Comment