
मधेसखबर
वीरगन्ज , ०६ जेठ : पर्साको जगरनाथपुर गाँउपालिकामा पहिलेका माओवादी र अहिलेका एमाले नेता रहेका जालीम मिया अन्सारीको विरासत नेपाली काँग्रेसले ढालेको छ ।
जालीम मुखीयाका नामले परिचित जालीम , निवर्तमान गाँउपालिका अध्यक्ष पनि हुन् । आफु संघीय संसदमा चुनाव लड्ने तयारीमा रहेका निवर्तमान अध्यक्ष जालीमले स्थानीय तह निर्वाचनमा भने आफना भाइ महम्मद सलिम मन्सुरलाइ एमालेबाट गाँउपालिका अध्यक्षको उम्मेदवार बनाएका थिए ।
तर पटक पटक गाविस अध्यक्ष र एक पटक गाँउपालिका अध्यक्ष समेत जितिसकेका जालीम, यसपाली भने आफनै पालिकामा आफनो विरासत जोगाउन असफल भएका छन् ।
जगरनाथपुर गाँउपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । गाँउपालिका अध्यक्षमा काँग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि काँग्रेसकी बबीता सिंह निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित यादवले ५७४९ मत पाउदा उनका निकटतम प्रतिद्धन्द्धी जालीमका भाइ एंव एमाले उम्मेदवार महम्मद सलिम मन्सुर भने ३९२६ मत मात्रै पाएका छन् । यादवले मन्सुरलाइ १८२३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।जसपाका उम्मेदवार कृष्णमोहन प्रसाद यादवले ३४४७.मत पाएका छन् ।
२०७४ को निर्वाचनमा भने जालीम ३०४१ मतका साथ गापा अध्यक्षमा निर्वाचित हुदा काँग्रेसका यादव भने २९८६ मत प्राप्त गरि तेश्रो स्थानमा रहेका थिए ।
गाँउपालिका उपाध्यक्षमा पनि काँग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी छन् । एमालेकी उम्मेदवार मीरादेवी कुर्मीलाइ २१८६ मतअन्तरले पराजित गर्दै बबिता उपाध्यक्षमा निर्वाचित भएकी हुन्
बबिताले ५५३१ मत पाउदा एमाले उम्मेदवार मीरादेवीले भने ३३४५ मत पाएकी हुन् ।
उपाध्यक्षमा मुख्यमन्त्री लालबाबुराउतकी पत्नि जसपा उम्मेदवार जलेखा खातुनले भने ३१२३ मत मात्रै पाएकी छन् ।

