
मधेसखबर
वीरगन्ज, २९ बैशाख : मौनअवधीमा मतदातालाइ प्रभावमा पार्न पैसा बाँडेको आरोपमा राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् ।
जनकपुरधामको बसपार्क स्थित होटल सीताशरणमा बसेर पैसा बाड्दै गरेको आरोपमा अन्सारी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटीएको टोलीले होटलको कोठा नम्बर ३०५ बाट बिहीबार दिउँसो पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई सघाउने गरी मतदाता प्रभावित पार्न खोजेको अन्सारी माथि आरोप लागेको हो ।
अन्सारी जनकपुर स्थित सीताचरण होटेलमा ४ दिनदेखि बसेको र साहका पक्षमा मुस्लिम मतदातालाई प्रभावित गर्न खोजेको आरोप उनि माथि लागेको छ । स्वतन्त्र मेयरका उम्मेदवार साह , केही दिनअघि मात्रै लोसपा त्यागेर एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गराउन अन्सारीले नै भूमिका खेलेका थिए । एमालेबाट टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
धनुषाका प्रहरी प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले भने अध्यक्ष अन्सारीलाई पक्राउ नगरिएको दाबी गरे । जनकपुरको होटल सीताशरणमा बसेका अन्सारीलाइ बिना कारण एमालेका नेता कार्यकर्ताहरुले घेरेपछि प्रहरीले त्यहाबाट उद्धार गरि काठमाण्डौ पठाउन जनकपुर विमानस्थलमा पुरयाइ दिएको क्षेत्रीले बताए ।

