काठमाडौं,७ जेठ : घरमा लुकाएर राखिएको विद्युतीय चुरोट (भेप)सहित ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ की ४४ वर्षीया मम्माया तामाङ, ३५ वर्षीय राजकुमार तामाङ, ४७ वर्षीया छोमाया तामाङ, धादिङको गंगाजमुना गाउँपालिका –३ का २५ वर्षीय सहिन गुरुङ, बाजुरा बढिमालिकानगरपालिका–१० घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय सागर खत्री, नुवाकोटको तादी गाउँपालिका–४ का २७ वर्षीय सुवास तामाङ र ओखलढुङ्गाको भदौरे गाउँपालिका–६ का २६ वर्षीय नेत्र बहादुर थापा मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ दाहलफेदीकी ४४ वर्षीय मम्माया तामाङको घरमा चेकजाँच गर्ने क्रममा कोठाभित्र लुकाएर राखिएको भेपसहित उनीहरूलाई पक्राउ गरिएको हो। घरको कोठामा लुकाएर राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र ६ वटा कार्टुनमा ३६ लाख ७५ हजार रुपैयाँ बराबरको १ हजार २२५ थान भेप बरामद गरिएको हो। साभारःअन्नपूर्णपोष्ट

