वीरगन्ज, ७ जेठः नवजात शीशुलाई सेवन गराइने आमाको बिगौती (पहेंलो÷पहिलो) दुधको फाइदाका बारेमा वीरगन्जमा बिहीबार आयोजित एक कार्यक्रममा जानकारी गराइएको छ ।
वास्थ्य कार्यालय पर्साको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो । शिशुको स्वास्थ्य, पोषण तथा स्तनपान प्रवद्र्धनलाई प्रभावकारी बनाउन आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री तथा वितरण नियन्त्रणसम्बन्धी कानुनी व्यवस्थाबारे सरोकारवाला निकायलाई लक्षित गर्दै उक्त अभिमुखीकरण आयोजना गरिएको थियो ।
कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री तथा वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५१ सम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो। कार्यक्रममा शिशु पोषण, स्तनपानको महत्व, स्तनपान प्रवद्र्धन तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत रुपमा छलफल पनि गरिएको थियो।
कार्यक्रममा जन्मपछिको पहिलो बाक्लो दूध अर्थात् बिगौती (पहेंलो/पहिलो) दूध शिशुका लागि अत्यन्त महत्वपूर्ण हुने बताइएको थियो। विशेषज्ञहरूले उक्त दूधमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्व रहने भएकाले यसले शिशुलाई संक्रमण तथा विभिन्न रोगबाट बचाउन सहयोग गर्ने जानकारी दिएका थिए। साथै शिशुको पाचन प्रणालीले सजिलै पचाउन सक्ने पोषक तत्व पर्याप्त मात्रामा हुने भएकाले पनि जन्मपछिको प्रारम्भिक स्तनपानलाई विशेष महत्व दिनुपर्ने बताइएको थियो।
कार्यक्रममा स्तनपानका सिफारिस गरिएका व्यवहार, स्तनपान गराउने सही आसन, बच्चासँग सम्पर्क स्थापित गर्ने विधि, पुनः स्तनपान तथा स्तनपान प्रतिस्थापन गर्ने वस्तुसम्बन्धी कानुनी प्रावधानबारे पनि जानकारी दिइएको थियो।
बच्चालाई दूध खुवाउँदा बच्चाको शरीर सिधा राख्ने, मुख आमाको स्तनतर्फ फर्काउने, बच्चाको पेट आमाको पेटसँग जोडिने गरी राख्ने तथा टाउकोदेखि खुट्टासम्म शरीरलाई राम्रोसँग समर्थन गर्ने विधिबारे प्रशिक्षण दिइएको थियो।
शीशुलाई स्तनपान गराउँदा आमाको पाठेघर खुम्चिन सहयोग पुग्ने, सुत्केरीपछिको अत्यधिक रक्तश्रावको जोखिम कम हुने तथा स्तनमा दूध जम्ने समस्याको सम्भावना घट्ने जानकारीपनि दिइएको थियो।
साथै शिशुलाई जन्मेको केही समयमै आमाको दूध खुवाउने, आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित प्रचार–प्रसार तथा बिक्री वितरण नियन्त्रण गर्न कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य प्रशासक निम्बर अधिकारी, जनस्वास्थ्य अधिकृत अनिल सिंह,सुनिल कुमार साह, अधिवक्ता मिनबहादुर श्रेष्ठ, प्रहरी निरीक्षक सोनी नेम्हाफुकी,पत्रकार आर.के. पटेल, नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता, पोखरिया अस्पतालकी दिपिका कुमारी लगायतकाको पनि सहभागिता रहेको थियो।

