Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

आर्थिक बृद्धिदरमा मधेस प्रदेश सबैभन्दा कमजोर

फाइल फोटो ।

जनकपुर,६जेठ: चालु आर्थिक वर्ष २०८२/०८३ मा मधे प्रदेशको अर्थतन्त्र सबैभन्दा कमजोर देखिएको छ । आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भिक अनुमानमा स्थिर मूल्यमा मापन गरिएको उपभोक्ताको मूल्यको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको सबैभन्दा कमजोर आर्थिक बृद्धिदर मधेसको हुने अनुमान गरिएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालय धनुषा जनकपुरधामले सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्याङ्कअनुसार सबैभन्दा उच्च वार्षिक वृद्धिदर बागमती प्रदेशको (५.४० प्रतिशत) रहेको छ । त्यसपछिको गण्डकी प्रदेश (५.०१ प्रतिशत) देखिन्छ । त्यसैगरी, सबैभन्दा न्युन वार्षिक वृद्धिदर मधेस प्रदेश (१.३१ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान छ । स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा बागमती र गण्डकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदर भन्दा बढी र बाँकी प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदर भन्दा कम हुने प्रारम्भिक अनुमान रहेको कार्यालयका प्रमुख तथ्यांक अधिकारी शिवनारायण महतोले जानकारी दिए ।

 

चालु आवको प्रदेशिक कूल गार्हस्थ उत्पादनको आर्थिक वृद्धिदर (प्रतिशत) मा कोशी ३.३१, मधेसः १.३१, बागमती : ५.४०, गण्डकी ः ५.०१, लुम्बिनी : २.८७, कर्णाली : २.९४, सुदूरपश्चिम : ३.३८ र राष्ट्रिय औसत : ३.८५ रहेको छ । आर्थिक वृद्धिदर भनेको अघिल्लो अवधिको तुलनामा प्रदेशको स्थिर मूल्यको कुल गार्हस्थ्य उत्पादन (रियल जीडिपी) मा हुने परिवर्तन हो । प्रदेशको अर्थतन्त्रको अवस्थाको मूल्याङ्कन गर्न यो सूचक प्रयोग गरिन्छ ।
तथ्याङ्क विश्लेषण गर्दा चालु आवमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धिदर अंक गत आवको तुलनामा सुधार भएको छ ।

कोशीको गत वर्षको वृद्धिदर २.७२ प्रतिशत रहेकोमा अहिले ३.१३ प्रतिशत छ । मधेसको गत वर्ष ४.४३ प्रतिशत रहेकोमा अहिले १.३१ प्रतिशत मात्र भएको छ । यो भनेको गत वर्षको तुलनामा अत्यन्त कम (कमजोर) हो । बागमतीको गत वर्ष ५.२९ प्रतिशत वृद्धि भएकोमा अहिले ५.४० प्रतिशत हाराहारी वृद्धिदर देखिन्छ ।

गण्डकीको गत वर्ष ४.९२ प्रतिशतको वृद्धि भएकोमा अहिले ५.०१ प्रतिशतले अर्थतन्त्र विस्तार भएको देखिन्छ । यसैगरी लुम्बिनीको भने गत वर्ष ४.२७ प्रतिशत रहेकोमा अहिले घटेर २.८७ प्रतिशत मात्र हुने अनुमान रहेको कार्यालय प्रमुख महतोको भनाई छ । सबैभन्दा पिछिडिएको क्षेत्र भनिएको कर्णालीको गत वर्ष ५.२५ प्रतिशतको आर्थिक वृद्धिदर रहेकोमा घटेर हाल २.९४ प्रतिशत कायम भएको छ । सुदूरपश्चिमको गत वर्ष ३.२१ प्रतिशतको वृद्धि रहेकोमा अहिले सामान्य बढेर ३.२८ प्रतिशत भएको अनुमान छ ।

अर्थतन्त्रमा सबैभन्दा ठूलो बागमती
तथ्यांक अनुसार चालु आवमा मुलुकको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान बागमतीले गर्नेछ । यस वर्ष राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन (उपभोक्ता मूल्य) मा ६६ खर्ब हुने अनुमान कार्यालयले गरेको छ । यसमध्ये बागमती प्रदेशले मात्र २४ खर्ब २३ अर्ब अर्थात् ३६.७ प्रतिशत हिस्सा ओगट्छ ।

त्यस्तै कोशीले १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनीले ९ खर्ब ३७ अर्ब (१४.२ प्रतिशत), मधेसले ८ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकीले ५ खर्ब ९३ अर्ब (९ प्रतिशत), सुदूरपश्चिमले ४ खर्ब ६४ अर्ब (७ प्रतिशत) र कर्णाली प्रदेशको २ खर्ब ७७ अर्ब (४.२ प्रतिशत) हिस्सा ओगट्ने कार्यालयले जनाएको छ ।

औद्योगिक वर्गीकरणको आर्थिक क्रियाकलापलाई हेर्दा आर्थिक वर्ष २०८१/०८२ र २०८२/८३ मा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा बढी देखिन्छ । बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा बढी देखिन्छ । आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तहमा दोश्रो हिस्सा ओगटेको व्यापारले कोशी तथा मधेस प्रदेशमा पनि दोश्रो हिस्सा नै ओगटेको देखिन्छ । त्यसैगरी, बागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोवार सेवाको हिस्सा दोश्रो स्थानमा रहेको छ । गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन र रक्षाको योगदान दोश्रो स्थानमा छ भने लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा शिक्षाको योगदान दोश्रो स्थानमा रहेको छ । अर्कोतर्फ, कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा प्रशासनिक सहयोगी सेवा; मधेस, वागमती र कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ ।

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको कृषि, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षा वाहेक सबै प्रदेशका अन्य सबै क्रियाकलाप वृद्धिदर धनात्मक देखिन्छ । आर्थिक वर्ष २०८२/०८३ मा औद्योगिक वर्गीकरणको कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत तथा ग्याँसको (२०.९३ प्रतिशत) रहने प्रारम्भिक अनुमान छ । कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर सोही क्रियाकलापको रहने र कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तिय तथा विमा सेवाको रहने प्रारम्भिक अनुमान गरिएको छ ।

 

चालु आवमा कोशी प्रदेशमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ भने वागमती, गण्डकी, कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षाको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा र मधेस प्रदेशमा कृषिको वार्षिक वृद्धिदर ऋणत्मक रहने अनुमान छ ।

मधेसको प्रतिव्यक्ति कमाई ९३४ डलर

चालु आर्थिक वर्ष २०८२/०८३ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ यूएस डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । मधेस प्रदेशको भने ९३४ यूएस डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,५१६ यूएस डलर हुने संशोधित अनुमान गरिएको छ भने मधेस प्रदेशको ९४७ यूएस डलर हुने संशोधित अनुमान गरिएको छ । डलरको सटहीदरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८१/०८२ मा भन्दा आर्थिक वर्ष २०८२/०८३ मा कम हुन गएको अनुमान रहेको छ ।गाेविन्द महताे/अन्नपूर्णपाेष्ट

Related posts

सरकारले ग्यासको मूल्य फेरि बढायो

MadhesKhabar

चल्न थाल्याे फेसबुक र इन्स्टाग्राम

MadhesKhabar

वीरगन्जको दशैं मेलामा युवाहरुबीच कुटाकुट हुदाँ ई–रिक्सा चालक कानुको मृत्यु, ३ जना पक्राउ

MadhesKhabar

Leave a Comment