वीरगन्ज,५जेठःहिन्दु धर्म सम्बद्ध विभिन्न संघसस्ंथाले हिन्दु नेता विजय प्रकाश निषादको रिहाईको माग गरेका छन् । नेपाल विश्व हिन्दु महासंघ, राष्ट्रिय समता पार्टी नेपाल, राष्ट्रिय एकता दल ,अन्र्तराष्ट्रिय हिन्दू परिषद राष्ट्रिय र बजरंग दल नेपालले प्रहरी हिरासतमा रहेका निषादको रिहाइको माग गरेका हुन् ।
मंगलबार ती संघसंस्थाले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै निषादको गिरफ्तारी अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारमाथिको हस्तक्षेप भएको बताएका छन् । उनीहरूले हिन्दु धर्म, संस्कृति र आस्थाको पक्षमा आवाज उठाएकै कारण निषादलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।
विज्ञप्तिमा लोकतान्त्रिक मुलुकमा आफ्ना विचार र धारणा राख्न पाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गरिएको छ । राजनीतिक वा वैचारिक आस्थाका आधारमा व्यक्तिलाई दमन गर्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने भन्दै ती संस्थाहरूले सरकारलाई संयमता अपनाउन आग्रह पनि गरेका छन् ।
संस्थाहरूले निषादको गिरफ्तारीले धार्मिक तथा सामाजिक क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको दाबी गर्दै यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पुग्न सक्ने चेतावनी दिएका छन् । साथै उनीहरूले शान्तिपूर्ण ढंगले आफ्नो धारणा राख्ने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
प्रेस विज्ञप्तिमार्फत चारवटै संस्थाले विजय प्रकाश निषादलाई बिना कुनै शर्त तत्काल रिहा गर्न माग गर्दै अन्यथा थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।यता जिल्ल प्रहरी कार्यालय पर्साले भने निषादलाई पक्राउ गर्नुको कारण भने खुलाएको छैन ।

