वीरगन्ज, २९ वैशाख : रौतहटको छुट्टा छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।सोमबार राति रौतहटको परोहा नगरपालिका–६ कोप्वास्थित सडकमा बीआर०५एएच २८७७ नम्बरको मोटरसाइकल र बा८१प ६४४८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा बीआर ०५ एएच २८७७ नम्बरको मोटरसाइकलमा सवार परोहा नगरपालिका–३ तेजापाकड बस्ने २२ वर्षीय सुरेन्द्र पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो ।
साथै उक्त दुर्घटनामा घाइते भएका बा८१प ६४४८ नम्बरको मोटरसाइकलमा सवारमध्ये एक जनाको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छभने एक जनालाई थप उपचारका लागि चितवनतर्फ रिफर गरिएको छ ।
यसैगरी, रौतहटकै कटहरिया नगरपालिका–४ बहादुरपुर टोलस्थित सडकमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको म.प्र.०२–०३–११प ३५०८ नम्बरको मोटरसाइकलबाट लडेर फतुवा विजयपुर नगरपालिका–५ गमहरियाकी ३८ वर्षीया रिंकुदेवी ठाकुरको मृत्यु भएको छ । सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

