Madhes Khabar
राजनीति

पर्सा–१ का मतदातासंग एमाले उम्मेदवार यादवको आग्रह : जनताको बीचमा रहेर काम गर्ने नेता हुँ,एकपटक फेरि मौका दिनुहोला

वीरगन्ज, १५ फागुन :पर्सा क्षेत्र नमबर १ मा नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई तीब्रता दिएका छन् ।

पूर्वखानेपानी मन्त्रीसमेत रहेका यादवले शुक्रबार बिहान वीरगन्ज महानगरपालिका–१५ का लक्ष्मणवा र भेडियाही गाँउमा पुगेर मतदातासँग प्रत्यक्ष संवादपनि गरेका छन् । त्यसक्रममा स्थानीय मतदाता र उनका समर्थकहरुले फुलमाला लगाएर भव्य स्वागत पनि गरेका थिए ।
घरदैलोका क्रममा मतदातासंग संवाद गर्दै उनले यसअघि दुई पटक पर्सा–१ बाट निर्वाचित भएपछि क्षेत्रको विकासका लागि आफूले गरेका कामबारे मतदातालाई जानकारी गराए ।

विशेषगरी गतवर्ष देखिएको खानेपानीको संकट समाधानमा आफूले खेलेको भूमिकाबारे स्मरण गराउँदै यादवले समस्या उत्पन्न भएको २४ घण्टाभित्रै आवश्यक निर्देशन दिएको दाबी गरे । “पानीको समस्या निम्तिएको बेला सौभाग्यवश म खानेपानी मन्त्री थिएँ । समस्या देखिएको २४ घण्टाभित्रै प्रत्येक टोल–टोलमा डीप बोरिङ जडान गर्ने निर्देशन दिएपछि आज वीरगन्जको खानेपानी समस्या अन्त्य भएको छ,” उनले भने ।

यादवले निर्वाचनपछि पनि जनताकै बिचमा रहेर काम गर्ने प्रतिबद्धता दोहो¥याउँदै मतदातालाई सुझबुझपूर्ण निर्णय लिन आग्रह गरे । “म सधैँ तपाईँहरूको बिचमा छु । सांसद बने पनि, मन्त्री बने पनि तपाईँहरूको घरदैलोमा आएर सुख–दुःखको सारथी बनेको छु,” उनले भने, “अन्य केही उम्मेदवारहरू भने चुनावमा मात्र देखिने पात्र हुन् ।”

उनले अन्य दलका उम्मेदवारहरू मत माग्न आए उनीहरूसँग काम र उपस्थितिका विषयमा प्रश्न गर्न समेत मतदातालाई आग्रह गरे ।
घरदैलो कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री प्रमोद जयसवाल,वीरगन्ज–१५ का वडाध्यक्ष रमेश यादव, एमाले नेता शम्भु गुप्ता, युवा नेता इश्वरचन्द्र यादव लगायत नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Related posts

स्वास्थ्य–शिक्षा–रोजगारीलाई प्राथमिकता दिँदै पूर्वमन्त्री अजय चौरसियाको ठूलो घोषणा

MadhesKhabar

बारामा छाप लगाएको २ वटा मतपत्र खसाउन खोजेपछि जसपाका नेता यादव पक्राउ

MadhesKhabar

बारासहित मधेस प्रदेशका ७ स्थानमा उप–निर्वाचन

MadhesKhabar

Leave a Comment