Madhes Khabar
खेलकुद

टी-२० विश्वकपमा आज इटालीसंग भिड्दै नेपाल

काठमाडौं,२९माघ : नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत दोस्रो खेल आज (बिहीबार) इटालीसंग बिहीबार खेल्दै छ । पहिलोपटक विश्वकप खेलिरहेको इटालीका लागि नेपाल बलियो प्रतिस्पर्धी हो । नेपालले पहिलो खेल इङ्ल्यान्डसँगको अनुभव लिएर इटालीसँग मैदानमा निस्कँदैछ । यूएईलाई वार्मअप खेलमा १ सय १२ रनको बलियो जित निकालेपछि इटाली बलियो आत्मविश्वाससहित नेपालसँग खेल्ने तयारीमा छ ।

 

इङ्ल्यान्डसँगको खेलपछि नेपाली खेलाडीको मानसिकता निकै बलियो रहेको छ । इटालीसँगको खेलमा जितका लागि आफूहरू तयार रहेको नेपाली खेलाडी बताउँछन् । नेपालका लागि यो विश्वकपमा ५ जना खेलाडीले पहिलोपटक विश्वकप खेल्दै छन् । जसमा नेपालका लागि एकदिवसीय भरपर्दो मानिएका खेलाडी आरिफ शेखले भने, ‘इटाली राम्रो टिम हो । हामी इटालीसँगको खेलको लागि तयार छौं । हामी उनीहरूलाई सहज प्रतिद्वन्द्वीको रूपमा भने हेर्ने छैनौं ।’ नेपाली टिम सुपर ८ को लक्ष्य राखेर यो विश्वकप खेलिरहेको उनले बताए । ‘सुपर ८ नपुग्दासम्म हाम्रा लागि हरेक खेल महत्वपूर्ण हुन्छन,’ शेखले भने, ‘इङ्ल्यान्डसँगको खेल जितेको भए हाम्रो लािग सुपर ८ को सम्भावना अझ बलियो हुने थियो ।’

 

सन् २०१८ मा नेपालको लागि टीट्वेन्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका आरिफले पहिलोपटक विश्वकप खेल्दै छन् । उनले आफ्नो पहिलो विश्वकपको अनुभव साट्दै भने, ‘मेरो र मेरो परिवारका लागि यो निकै गर्वको क्षण हो । म विश्वकपमा पहिलोपटक मेरो देशको प्रतिनिधित्व गरिरहेको छु । मेरो देश र टिमका लागि चाहिएको अवस्थामा जतिबेला पनि आफ्नो जिम्मेवारी पूरा गर्न तयार छु ।’

पहिलोपटक विश्वकप खेलेका आरिफका भाइ आसिफ शेख भने दोस्रो विश्वकप खेल्दै छन् ।पहिलोपटक सन् २०२४ को विश्वकप खेलेका आसिफले इटालीसँगको खेलमा टिमको मानसिकता जित्ने नै रहेको बताए । उनले भने, ‘इङ्ल्यान्डसँगको खेलपछि हामीले यो स्तरको खेल खेल्न तयार र लायक छौं भन्ने अनुभव भयो ।’ इङ्ल्यान्डसँगको खेलपछि नेपालले जुनसुकै देशलाई पनि हराउन सक्छ भन्ने आत्मविश्वास नेपाली टिममा आएको आसिफले बताए । ‘हामीले इङ्ल्यान्डसँगको खेलपछि राम्रो क्रिकेट खेल्यौं भने हामीले जस्तोसुकै राष्ट्रलाई पनि हराउन सक्छौं भन्ने अनुभव भयो,’ उनले भने ।

इटालीलाई नेपाली टिमले सहज प्रतिस्पर्धीको रूपमा नलिएको उनले बताए । ‘इटाली राम्रो टिम हो । पछिल्लो समय उनीहरूले राम्रो क्रिकेट खेलिरहेका छन्,’ उनले भने, ‘उनीहरूसँगको खेल सहज भने हुने छैन । हामी हाम्रो ट्रेनिङ सेसनमा गरेको तयारीमा विश्वास राख्छौं । हामी प्रतियोगिताभरि नै हरेक टिमलाई कडा प्रतिस्पर्धा दिने तयारीमा रहेका छौं ।’

नेपाली खेलाडीहरू खेलसँगै मानसिक रूपमा पनि तयार छन् । पहिलो खेलमा इङ्ल्यान्डसँगको झिनो हारपछि कप्तान रोहितकुमार पौडेल केही अनफिल्ड र अफफिल्ड निर्णय र रणनीतिको परिवर्तनको अपेक्षा गर्छन् । उनले खेलअघिको पत्रकार सम्मेलनमा भने, ‘केही मैदानभित्रको निर्णयहरू समयमा नै लिन सकेको खण्डमा टिमका लागि राम्रो हुनेथियो ।’ उनले रणनीतिक पक्षमा कुरा गर्दै भने । विश्वकप जस्तो ठूलो स्तरमा खेलिरहँदा मैदानभित्रको दबाब सम्हाल्न सक्नुपर्ने उनले बताए ।

‘विश्वकप खेल्दा दबाब हुन्छ । जसले दबाब झेल्न सक्छ त्यही टिमले जित्ने हो,’ पौडेलले भने, ‘हामीले विश्वकपमा पहिलो खेल नै विश्वको एक उत्कृष्ट टिमसँग खेलिसकेका छौं । त्यसका कारण हामीले इटालीसँगको खेल खेल उच्च मनोबल र आत्मविश्वासका साथ खेल्ने छांै ।’

नेपालले सम्पूर्ण खेल वाङ्खेडे मैदानमा नै खेल्दैछ । यो नेपालको लागि मैदान र पिचको जानकारीको हिसाबले निकै महत्वपूर्ण हुनेछ । नेपालका कप्तान रोहित भन्छन्, ‘समूह चरणको सम्पूर्ण खेलहरू वाङ्खेडेमा नै खेल्न पाउनु हाम्रो लागि पिच र मैदानको हिसाबले निकै
महत्वपूर्ण हुन्छ ।’

इटालीसँगको खेल अगाडि कप्तान रोहित भन्छन्, ‘इटालीलाई सहज टिमको रूपमा लिएका छैनौं । यो स्तरको खेलमा कुनै पनि टिमसँग खेल्नु सहज हुने छैन । उनीहरूले पछिल्लो केही समययता राम्रो क्रिकेट खेलिरहेका छन् । हामीले केही रणनीतिहरू बनाएका छन् । अब त्यो रणनीतिलाई मैदानमा देखाउने समय आएको छ ।’

कप्तान रोहितसँगै एकै टिमबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका शेर मल्लले विश्वकपको पहिलो खेलबाट नेपालको लागि डेब्यु गरे । उनले नेपालको लागि डेब्यु बलमा नै फिल साल्टको विकेट लिँदै सनसनीपूर्ण डेब्यु गरेका थिए । उनले अन्नपूर्णसँग भने, ‘पहिलो खेलपछि नेपाली टिमको मानसिकता र आत्मविश्वास निकै उच्च रहेको छ । हामी गर्न सक्छौं भन्ने विश्वास जागेको छ । इटालीसँगको खेलमा हामी पहिलो खेलमा जस्तो क्रिकेट खेलेका थियौं त्यस्तै क्रिकेट खेल्नेछौं ।’नमिता दाहाल/अन्नपूर्ण पाेष्ट

Related posts

अष्ट्रेलियामा जारी टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

MadhesKhabar

ब्राजिलकाे सानदार जितमा नेयमारकाे उत्कृष्ट प्रदर्शन

MadhesKhabar

कर्पोरेट सुपर सिक्सेस क्रिकेटकाे ट्रफी र जर्सी सार्वजनिक

MadhesKhabar

Leave a Comment