जनकपुरधाम,३ मंसिर : मधेस प्रदेशसभाको बुधबार बसेको बैठकबाट सभामुख रामचण्द्र मण्डललाई पदमुक्त गरिएको छ।
प्रदेशसभाका उपसभामुख बबिता राउत ईशरले सञ्चालन गरेको बैठकमा सभामुखले पद अनुकुल आचरण नगरेको भने प्रस्ताव पेश गरिएको थियो। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८२ को उपनियम (१) बमोजिम सभामुखले पद अनुकुल आचरण नगरेको प्रस्ताव नेपाली कांग्रेसका सांसद कुमरकान्त झाले सदनमा पेश गरेका थिए। उक्त प्रस्तावमाथि छलफल भएर निर्णयार्थ प्रस्तुत गरिएको थियो।
प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गर्दा पक्षमा ७६ मत पर्न गएको र विपक्षमा शून्य मत परेको थियो। प्रदेशसभाको कूल सांसद संख्याको बहुमत मत भएको हुँदा उक्त प्रस्ताव पारित भएको र सभामुख मण्डललाई पदमुक्त गरिएको घोषणा ईशरले गरेकी हुन्।
प्रदेशसभाको बैठकमा सरकार पक्षका कसैको पनि सहभागिता थिएन भने एमाले बाहेकका सबै दलले मण्डलको विपक्षमा मत दिएका थिए।मण्डल, २०७९ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।यसअघि केपी ओली सरकारको पालामा मधेस प्रदेशमा नियुक्त भएकी तत्कालिन प्रदेश सभा प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पदमुक्त गरेको थियो ।मनिका झा /अन्नपूर्णपोष्ट

