वीरगन्ज,४ भदौं : वीरगन्जको नारायणी अस्पतालमा स्टोर शाखाको नयाँ भवन निर्माण कार्य सुरु भएको छ । बुधबार अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले भवन निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
अस्पतालको महेन्द्र आरोग्य भवन पछाडि रहेको शव पोष्टमार्टम गृह नजिकको खाली १० धुर क्षेत्रफलको जग्गामा दुई तल्ले स्टोर शाखाको नयाँ भवन निर्माण गर्न थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको १ करोड ३७ लाख रुपैयाँको लागतमा स्टोर शाखाको नयाँ भवन निर्माण कार्य बुधबारदेखि विधिवत रुपमा सुरु गरिएको अध्यक्ष गुप्ताले बताए ।
निर्माण कार्य सुरु भएको ६ महिनाभित्रमा भवनको निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनिसंग अस्पतालले सम्झौता गरेको जानकारीपनि उनले दिए ।
हाल स्टोर शाखा महेन्द्र आरोग्य भवनको पूरानो भवनको जीर्ण कोठामा सञ्चालनमा रहेकाले अस्पतालले खरिद गरेका उपकरण, सामग्री, औषधि,रसायनहरु व्यवस्थित रुपमा भण्डारण हुन नसकेको अध्यक्ष गुप्ताले बताए । शिलान्यास कार्यक्रममा अस्पतालका मेसु डा. चुमनलाल दास, सूचना अधिकारी डा. उदयनारायण सिंह,प्रशासन प्रमुख हृदेश नारायण पर्वत , लेखा शाखा प्रमुख अवधकिशोर चौधरी लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

